बाढी–पहिरोको कहर: बालिकासहित २ जनाको मृत्यु, विद्युत् र सडक अवरुद्ध


नेपाल समाचारपत्र, दार्चुला

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परीगाउँ खोलामा आएको बाढीले घर बगाउँदा बालिकासहित २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै खोलामा आएको बाढी र पहिरोले घर पुरिँदा स्थानीय हरजित ठगुन्नाकी ४२ वर्षीय श्रीमती मानमती ठगुन्ना र सोही ठाउँका मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पारवती ठगुन्नाको घटनास्थलमै मृत्यु भएको नौगाड प्रहरी चौकी प्रमुख भुवनबहादुर चन्दले जानकारी दिनुभयो । नौगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मृतकको शव पुरिएको अवस्थामा घरभित्रबाट निकालेको उहाँले बताउनुभयो ।

बाढी–पहिरोमा परी घाइते भएकी हरजित ठगुन्नाकी २२ वर्षीय बुहारी मोहना ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो । घटनास्थलमा नौगाड प्रहरी चौकी र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट उद्धारका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

बाढीले हरजित ठगुन्ना, विरभानसिंह ठगुन्ना र साइमलसिंह धामीको घर, समैजी आधारभूत विद्यालयको १२ कोठे भवन, शौचालय, खानेपानी ट्याङ्की, बगाएको छ भने दुईवटा घोडा, १८ बाख्रा, ४ गोरु र ३ वटा गाई बगाएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।

यस्तै देवसिंह धामीको दुई तले पक्की घर, जमिन, पानी घट्ट, २ गोरु, २ गाई, २ बाच्छी बगाएको छ भने सालीभानसिंह धामीको घर, दुर्गे शिवराज र लोकेन्द्र खत्रीका ५१ बाख्रा र गोठ बगाएको छ । यसैबीच महाकाली नगरपालिका–३ डुङ्रीमा रहेको डुङ्री जलविद्युत्को विद्युत् उत्पादन गृह डुबानमा परेको छ ।

डुबानमा परेपछि विद्युत् उत्पादन अवरुद्ध भएको तथा नजिकै पार्किङ गरेर राखेको म१ज २७० नम्बरको जिपसमेत पुरिएको प्रहरीले जनाएको छ । यस्तै महाकाली नगरपालिका–५ स्थित धौलीगाड खोलामा आएको बाढीले सडक भत्काउँदा महाकाली लोकमार्ग पूर्णरूपामा अवरुद्ध भएको छ ।