तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक मधुसुदन सिलवाललाई पक्राउ गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा सिलवाललाई सीआईबीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशमा ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका सिलवालले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख धरौटी जफत हुने फैसला तथा उच्च अदालत पाटनकै २०७३ चैत २४ को फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला गरेको थियो । दुवै मुद्दाका दोषी सिलवाल फरार रहेको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार सिलवाललाई भक्तपुरको सिद्धपोखरीबाट पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार सिलवालले वित्तीय क्षेत्रमा गरेका अनियमितताहरूमा २०६६ सालदेखि सिद्धार्थ डेभलपमेन्ट बैंकमा संस्थापक समूहको सञ्चालक भई कर्जा समितिको सदस्य रही खराब कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै २०६६ असोज २५ गते तुलसीप्रसाद खनालको खातामा रहेको ११ करोड ५ लाख ६९ हजार २९३ रुपिया“ खर्च गरी किष्ट बैंकका ऋणी जेन्टल हाउजिङ कम्पनी (सञ्चालक मधुसुदन सिलवाल) को कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न प्रयोग गरेको ।

साथै सोही मितिमा ६ करोड ३८ लाख ३० हजार ७०७ रुपियाँ मधुसुदन सिलवाल स्वयम्ले भुक्तानी लिएका थिए । जम्को प्रकाशनलाई कर्जा प्रवाह गर्दा तत्काली किष्ट बैंकका सीईओ कमलप्रसाद ज्ञवालीको व्यावसायिक साझेदार मधुसुदन सिलवाल कर्जा स्वीकृतिमा संलग्न रहेको ।

व्यावसायिक साझेदार सिलवाललाई उपयोग गरी जम्को प्रकाशनको कर्जा स्वीकृति गराएको । सिलवालले किशोर ढकाल र ज्ञवालीको बीचमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए । सीआईबीका अनुसार सिद्धार्थ बैंकवाट जम्को प्रकाशनको नाममा प्रवाह भएको कर्जा सा“वा १३ करोड र ब्याज करिब ३ करोड गरी १६ करोड रुपियाँ रहेको थियो ।