मास्क फालेर बहादुर देखिने मानसिक रोग


कपिल काफ्ले, काठमाडौं

‘मलाई कोरोना भाइरस सर्दैन, त्यसैले म मास्क लगाउँदिनँ’ भन्ने सोच मानसिक रोग भएको विशेषज्ञहरुको धारणा छ । ‘मास्क लगाउँदा कोरोना भाइरसको संक्रमण७५ प्रतिशतले नियन्त्रित हुने अध्ययनले देखाइसकेको अवस्थामा मास्क लगाउन नचाहनु एक प्रकारको मानसिक समस्या हो’डा. युएन क्वक–युङ्गले टिप्पणी गर्नुभएको छ । हङकङ युनिभर्सिटीका शोधकर्ता क्वक–युङ्ग सन् २००३ मा सार्स भाइरस पत्ता लगाउनेमध्येका एक रहेको सिएनबिसीले जनाएको छ ।

विश्वमा सबैभन्दा ठूलो परिमाणमा संक्रमित रहेको अमेरिकामा पनि पछिल्लो समय मास्क लगाउने तत्परता बढेसँगै संक्रमण र मृत्युदरमा कमी आएको विश्लेषकहरुको ठहर छ । नेपालमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनसमेत चलाएर बन्दाबन्दी पूर्णरुपमा हटाउन लागिएको बेला मास्कको पहिरनमा लापर्बाही अपनाइए महामारी पहिलेभन्दा ठूलो रुप लिएर फर्किने नेपाली चिकित्सकहरुको चेतावनी छ ।

बजार र यातायातका साधनहरु बन्द हुनु वा खुल्नुभन्दा पनि मास्क लगाइएको वा नलगाईका कारणले कोरोना भाइरसको संक्रमणको दर प्रभावित भएको छ । अमेरिका ‘पौरुषत्व प्रदर्शन गर्ने’ मानसिकताका कारण मास्कको प्रयोग नगरेर विश्वको एक नम्बर संक्रमित बनेको छ, ब्राजिलले पनि मास्कप्रति लापर्बाही गरेरै दोस्रो स्थान कायम राखेको छ भने छिमेकी भारत बहुसंख्यक नागरिकमा रहेको तीव्र गरिबी र न्यून चेतनाले मास्कसम्म पहुँच हुन नसकेका कारण तेस्रो स्थानमा छ । दक्षिण कोरियालगायतका मुलुकहरुले बन्दाबन्दीलाई भन्दा बढी मास्कलाई जोड दिएका कारण अर्थतन्त्रलाई पनि बचाएका छन् भने नागरिकको स्वास्थ्य पनि बिग्रिन दिएका छैनन् ।

यसैबीच, मिड्रेक्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक भ्यालेरियो क्याारो र क्यालिफार्नियाका गणितज्ञ हेरेन बारकेलोले दुई हजार पाँच सय व्यक्तिमा शोध गर्दै मास्कप्रति महिलाभन्दा पुरुष बढी लापर्बाह रहेको पत्ता लगाउनुभएको छ । बिबिसीले प्रकाशित गरेको समाचारअनुसार शोध अमेरिकामा केन्द्रित थियो ।

‘मास्क लगाउनु लाजमर्दो कुरा हो, यसले कमजोरीको सूचकका रुपमा काम गरिरहेको हुन्छ’ शोधमा अमेरिकीहरुको भनाइ उद्धृत गरिएको छ । मास्क लगाउन अनिवार्य नगरिएको प्रदेशका सहभागी व्यक्तिले यस प्रकारको धारणा व्यक्त गरेको अनुसन्धानकर्ताले जनाएका छन् ।

सर्वेक्षणमा सार्वजनिक स्थल जहाँ अरु व्यक्तिहरु पनि सहभागी हुन्छन् र अन्य व्यक्तिको घरमा जाँदा तपाईं के गर्नुहुन्छ भनेर सोधिएकोमा दुई महिलाले ‘मास्क लगाउँछु’ भनेर जबाफ दिइरहँदा एक पुरुषले मात्र यस प्रकारको जबाफ दिएका थिए । विश्लेषकहरुले पुरुषमा मास्कप्रति यस प्रकारको वितृष्णा बढ्नुको कारणमा ‘मलाई रोग लाग्दैन, म महिलाभन्दा सबल छु’ भन्ने गलत मानसिकता हो भनेका छन् ।

शोधकर्ताहरुले उल्लेख गरेका छन्, ‘यो विडम्वनाको कुरा हो, कोरोना भाइरसका कारण महिलाभन्दा पुरुष नै बढी प्रभावित भएको, मरेको देख्दादेख्दै यस प्रकारको सोच बनाउनु मानसिक समस्या हो ।’
माक्स लगाउने कार्यमा मात्र होइन, पुरुषहरु हातधुने र स्यानिटाइजर प्रयोग गर्ने कार्यमा पनि पछाडि छन् । अनुसन्धानकर्ताहरुका अनुसार शोधमा सहभागीमध्ये ६५ प्रतिशत महिलाले ‘निरन्तर हात धुन्छु’ भनेका छन् भने यही जबाफ दिने पुरुषको प्रतिशत भने केबल ५२ मात्र छ ।

अमेरिकामा मास्क लगाउनेजस्तो जनस्वास्थ्य र जीवन–मरणको विषयमा पनि राजनीतिकरण गरियो । मास्क लगाउने डेमोक्र्याट र नलाउनेहरु रिपब्लिकनका रुपमा चिनिए । गत ११ असारमा गरिएको सर्वेक्षणमा ७६ डेमोक्र्याटले बजार जाँदा र कार्यालयमा काम गर्दा मास्क लगाउने बताए भने यसो भन्ने रिपब्लिकनहरुको प्रतिशत ५३ प्रतिशत मात्र थियो ।

मास्कभित्र जसरी राजनीतिले प्रवेश ग¥यो, त्यसरी नै लैङ्गिकताले पनि प्रवेश गरेको छ । पितृसत्तात्मक समाजका कारण केटा र केटीमा जोखिमको सामना गर्ने दृष्टिकोण फरक छ, कोपन हेगनकी प्राध्यापक क्रिस्टिना ग्राभर्ट भन्नुहुन्छ, ‘तुलनात्मक रुपमा पुरुषभन्दा महिला बढी सावधान रहन्छन् ।’ उहाँको विश्लेषणमा कोरोना संक्रमणका बेला महिलाको तुलनामा पुरुषहरु बढी गलत बाटो चयन गर्न पुगे ।

यसैबीच, सामाजिक सञ्जालमा यस टिप्पणीकारले एक छोटो सर्वेक्षण प्रश्न राख्यो । महिलाको तुलनामा पुरुष मास्क लगाउने कार्यमा यति उदास किन छन् भन्ने प्रश्न थियो । जबाफका लागि क) पुरुषमा रोगप्रति चेतनास्तर न्यून भएकाले, ख) अरुका अगाडि पुरुषत्व देखाउन वा बहादुरदेखिन र, ग) पुरुषमा मुख छोपेर सास फेर्ने क्षमता कम भएर । यही प्रश्न नेपाल प्रेस इन्ष्टिच्यूटमा १० महिने पत्रकारिता तालिममा सहभागी ३६औं समूहका प्रशिक्षार्थी–पत्रकारलाई सोध्दा सहभागी २० जनाले ‘बहादुर देखिन’ भन्ने जबाफ दिए । चार महिलासहित १६ पुरुषको एउटै जबाफमा सहमति देखियो ।

सामाजिक सञ्जालमा प्राप्त टिप्पणी पनि रोचक छन्, मिडिया हाउसकी सञ्चालक तथा लेखक सहनशीला शर्मा लेख्नुहुन्छ, ‘मास्क लगाउने कुरामा मात्र होइन, महिलाको तुलनामा पुरुषहरु जुनसुकै विषयमा पनि लापर्बाह देखिन्छन् ।’ यही भनाइलाई समर्थन गर्दै अधिकारकर्मी विमला दास ‘नकारात्मक पुरुषत्वका कारण व्यक्तिमा यस प्रकारको कमजोरी सिर्जना हुने’ आशय व्यक्त गर्नुहुन्छ । पुराना पत्रकार विष्णुकुमारी शर्मा पनि पितृसत्तात्मक विकृतिले जीवनप्रति नै पुरुषहरु लापर्बाह बनेको धारणा राख्दै शोचमा परिवर्तन आवश्यक छ भन्नुहुन्छ ।