गुँला पर्वका सम्पूर्ण जात्रा बन्द


सुनील महर्जन, काठमाडौं

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर गुँला पर्वको अवसरमा काठमाडौं उपत्यकामा हुने सम्पूर्ण धार्मिक जात्रा, पर्वहरु प्रभावित भएका छन् ।

यस वर्षको गुँला पर्व भोलि श्रावण ६ मंगलबारदेखि शुरु हुनेछ । श्रावण शुक्ल प्रतिपदाका दिनदेखि भदौं कृष्ण औंसीसम्म यो पर्व विशेष गरी काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा मनाइने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको जोखिमले गर्दा ती पर्व र परम्परा सञ्चालन गर्न नसक्ने सम्बद्ध गुठी संस्थाले निर्णय गरेको छ ।

काठमाडौंमा भने यस पर्वमा अवसरमा स्वयम्भूमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ । नेवाः समुदायका बौद्ध धर्मावलम्वीले एक महिनासम्म स्नान गरी परम्परागत नौबाजा बजाएर स्वयम्भू, महाचैत्य, सेतो मच्छिन्द्रनाथ र विभिन्न महाविहार चैत्य दर्शन गर्ने र आसपासका स्थलको परिक्रमा गर्ने चलन छ । यो वर्ष भने गुँला पर्वमा स्वयम्भु परिक्रममा र बाजागाजा बजाउने सम्पूर्ण कार्यहरु बन्द गरिएको गुँला बाजां सम्बद्ध गुठीहरुले जनाएका छन् ।

गुँला पर्वकै वेला ललितपुरको धापाखेलमा हुने नाग पञ्चमी (नागदह मेला), रक्षाबन्धन जनैपूर्णिंमा (कुम्भेश्वर मेला), गाईजात्रा नगर्ने निर्णय गरिसकेको छ । त्यसै गरी पशुपति देवपत्तन खड्ग जात्रा, पञ्चदान पर्वका सम्पूर्ण कार्यहरु बन्द गरिएको छ । त्यसै गरी न्यंकू जात्रा मतया व्यवस्थापन समिति क्षेत्र नं ७ श्री रुद्रवर्ण महाविहार ओकुबहाःले अहिलेको अवस्था मतयाः पर्व र ब्वगी वनेगु पर्व नहुने जनाएको छ । सो पर्व लिच्छिविकालीन राजा बालार्चन देवको पालादेखि हुँदै आएको थियो ।

ललितपुर महानगरपालिका–२८ र २९ वडाले हरिसिद्धि क्षेत्रमा हुने सम्पूर्ण जात्रा, पर्व सञ्चालन नहुने जनाएको छ । २८ र २९ का वडा अध्यक्षद्वय राजेश महर्जन र गणेशकुमार महर्जनले एक विज्ञप्ति प्रकाशित गरी गुँला पर्वको अवसरमा हुने सम्पूर्ण भजनकीर्तन, गाईजात्रामा विधि पु¥याउने सामान्य पूजाबाहेक अन्य कुनै पनि काम नहुने जनाएको छ । त्यसै गरी हरिसिद्धि देवी भवानीका पुजारीबाट हुने जल पूजा (धलं ब्वायेगु) पनि नगर्ने निर्णय गरिएको छ ।

त्यसै गरी भक्तपुर नगरपालिकाले र प्रशासनले सरोकारवालासँग समन्वय गरेर यस वर्ष गुँला पर्वका कुनै पनि गतिविधि नगर्ने निर्णय गरिसकेको छ । गुँला पर्वकै समयमा गाईजात्रालगायत अन्य कुनै पर्व नहुने नगरपालिकाले जनाएको छ । महिनैपिच्छे जात्रा र उत्सव हुने भक्तपुरमा कोरोनाका कारण एकपछि अर्को जात्रा–पर्वहरू प्रभावित भएका छन् । यसै क्रममा गुँला पर्व पनि प्रभावित हुने नगरपालिकाका मेयर सुनील प्रजापतिले बताउनुभयो ।