कोरोना प्रभावका विजयीलाई पुरस्कार


चलचित्र पत्रकार संघ नेपालले आह्वान गरेको कोरोनाले नेपाली फिल्म क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको शोधखोज तथा वस्तुगत तथ्यांकमा आधारित प्रतिवेदन, लेख रचना एवं धारणा विषयक लेखन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गरिएको छ। कोरोना जोखिमका कारण लगाइएको लकडाउनको पालना गर्दै थोरै सहभागीबीच संघद्वारा अनामनगरस्थित कार्यालयमा आयोजित कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो।

प्रतियोगितामा प्रथम भएबापत ध्रुव लम्साललाई नगद १५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। त्यसै गरी द्वितीय हुने विष्णु शर्मालाई १० तथा तृतीय र चतुर्थ भएबापत क्रमशः मनोज न्यौपाने र रीना मोक्तानलाई जनही ५ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको छ।

विजयीहरुलाई निर्णायकहरु चलचित्र पत्रकार संघका पूर्व अध्यक्षद्वय विदुर गिरी र शान्तिप्रिय तथा फिल्म पत्रकार एवं निर्देशक दीपेन्द्र लामाले पुरस्कार प्रदान गरे। छनोट समितिमा संघका कार्यक्रम उपाध्यक्ष जीवनकमार पराजुली र महासचिव समीर बलामी पनि थिए।

महासचिव बलामीले प्रतिस्पर्धाका लागि उपलब्ध भएकामध्ये मापदण्डभित्र परेका लेखबाट ५ सदस्यीय छनोट समितिको मूल्यांकनअनुसार विजयी चयन गरिएको जानकारी गराए। कार्यक्रममा संघका अध्यक्ष दिनेश सिटौलाले लेख रचनामा सहभागी र छनोट समितिलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा भिडियो र फोटो पत्रकारितालाई समेत उत्साहित गर्ने गरी प्रतियोगिता आयोजना गर्ने बताए।

नेपाली फिल्म क्षेत्रको वर्तमान वस्तुस्थिति र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने सम्भावनालाई पनि समावेश गरी चलाइएको यस्तो अभियानले फिल्म पत्रकारमा लेखनवृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर छ ।

कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष गिरीले लेख रचना छनोट गरिसकेपछि मात्र छनोट समितिलाई लेख रचनाकारको नाम थाहा दिइएको सुनाए भने अर्का पूर्व अध्यक्ष शान्तिप्रियले यस्तो कार्यक्रमले फिल्म पत्रकारको मनोबल बढाउने बताए।

छनोट समितिका अर्का सदस्य लामाले प्रतियोगिता उत्साहजनक र प्रभावकारी रहेको चर्चा गरे। पुरस्कृत पत्रकार ध्रुव लम्सालले यस्ता कार्यक्रमले पत्रकारलाई थप दक्ष बनाउन मदत गर्ने चर्चा गरे।