सदस्य सचिवमा हेटौंडेली युवाको दाबी


हेटौंडा,(नेस) ।

सरकारले राष्ट्रिय खेलकुद परिषद् सञ्चालनका लागि नयाँ ऐन ल्याएपछि पहिलोपटक आह्वान गरिएको सदस्य–सचिवका लागि हेटौंडाका खेल क्षेत्रमा पहिचान बनाएका एक युवाले पनि उम्मेदवारी दिएका छन् ।
परिषद्का सदस्य–सचिवको दाबी गर्दै उम्मेदवारी दिएका उनी हुन्– हेटौंडा उपमहानगरपालिका–२ का दीपेन्द्र ढकाल। नयाँ खेलकुद विकास ऐन जारी भएसँगै भंग भएको राखेपमा नयाँ सदस्य–सचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव आह्वान गरेपछि ढकालले पनि उम्मेदवारी दिएका हुन्।

२०६८ असार १० बाट मकवानपुर जिल्ला खेलकुद समितिमा सदस्य भएर जिम्मेवारी निभाएका ढकाल २०७२ साउन १२ गते मकवानपुर जिल्ला खेलकुद विकास समिति उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

खेलकुदमा आफ्नो पहिचान बनाएका ढकालले खेल क्षेत्रको पूर्वाधार निर्माण वा खेलकुद विकास गर्नमा होस्, लामो समय मिहिनेत गर्दै आएका छन्। खेल क्षेत्रमा उनले सक्रियपूर्वक भूमिका निर्वाह गरेको जिल्ला खेलकुद समितिले जानकारी दिएको छ।

एन्फामा शैक्षिक विभागका सदस्यसमेत रहेका ढकालले कानुन विषयमा स्नातकोत्तर गरेका छन्। उनी क्रिकेट संघ मकवानपुरका सचिव छन्। उनी हेटौंडा क्याम्पसमा शारीरिक शिक्षा र खेलविज्ञान पढाउँदै आएका छन् ।
उनको नेतृत्वमा हेटौंडा–४, पारिजातपथमा पहिलो बहुउद्देश्यीय कभर्डहल निर्माण भएको छ। उनी त्यहाँका अध्यक्ष हुन्। पिप्ले युवा क्लबमा ढकाल सचिव छन्।

‘अवसर पाए काम गरेर देखाउने उद्देश्यले आवेदन दिएको हुँ’ ढकालले भने– ‘सदस्य–सचिव हुने अवसर पाएँ भने खेल पूर्वाधार विकाससँगै आधुनिक खेलमैदान नेपालमा भित्र्याउनेछु। १० देखि १२ वर्ष उमेरका कम्तीमा २० जना खेलाडीलाई ४ वर्ष विदेशमा प्रशिक्षणका लागि लैजाने अवसर मिलाइने उनले दाबी गरे।

अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई नेपाल सरकारको उपसचिवसरहको तलब व्यवस्था गर्ने र रिटायर्ड भएका खेलाडीलाई पेन्सनको व्यवस्था मिलाउने उनको योजना रहनेछ। खेलाडी परिचयपत्रका आधारमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा सहुलियत व्यवस्था गरिने उनले बताए।

प्रदेश र जिल्लास्तरका खेलाडीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सिर्जना गर्ने, खेलकुद विद्यालय स्थापना र विद्यालयस्तरमा उत्कृष्ट खेलाडीलाई सोही विद्यालयमा आवासीयरूपमा पढ्ने व्यवस्था मिलाउने उनको योजना छ ।

प्रत्येक प्रदेशमा एक अन्तर्राष्ट्रिय रगंशाला निर्माण गर्ने उद्देश्य रहेको उनले जानकारी गराए। प्रत्येक स्थानीय तहमा खेलग्राम स्थापना र खेल अनुसन्धानसहित आवश्यक स्रोतको खोजी गरी खेलकुदलाई वैज्ञानिक र व्यवस्थित ढंगले सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।

‘अन्तर्राष्ट्रियस्तरमा नेपालको सहभागिता मात्र नभएर प्रतिस्पर्धा गर्नसक्ने क्षमता बृद्धि गर्नुपर्छ’, उनले भने– ‘पर्याप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने योजना छ। प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय कभर्डहल निर्माण, हाइअल्टिच्युट टेनिङ सेन्टर स्थापनाको सपना पनि उनले देखेका छन्।
प्रत्येक विद्यालयमा एक खेल शिक्षक एक खेलमैदान व्यवस्थापन गरी खेलकुदलाई विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक र मनोरञ्जनका रूपमा विकास गर्ने उनको योजना छ ।

खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सिफारिस ३ सदस्य समिति छ । जसको सदस्यमा इन्दिरा निरौला र रिम रानाभाट छन् ।

आवेदन बुझाएका मध्ये सिफारिस समितिले कम्तीमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसमध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले ४ वर्षका लागि सदस्य–सचिव नियुक्त गर्नेछ ।