नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा उत्साह


नेपाल समाचारपत्र, काठमाडौं

नयाँ आर्थिक वर्षको पहिलो एवम् साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा केही उत्साह देखिएको छ । यस दिन नेप्से ३२ दशमलव ४२ अंकले वृद्धि हुँदै १३९४ दशमलव ७७ बिन्दुमा पुगेसँगै पुँजी बजारमा उत्साह देखिएको हो ।

लकडाउन खुकुलो भएसँगै बजार पनि सुचारु हुँदै गर्दा शेयर बजार लयमा फर्किन थालेको छ । यसैक्रममा आर्थिक वर्षको पहिलो दोहोरो अंकको वृद्धिले शेयर बजारमा सुधारको संकेत दिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको ब्याजदर घट्ने संकेत देखिएपछि लगानीकर्ताहरू शेयर बजारप्रति आकर्षित देखिएका छन् ।

निरन्तर आरोलो लागेको नेप्से परिसूचकमा सुधार हुँदै गएपछि नयाँ आर्थिक वर्षमा नेप्सेले आफ्नोे बाटो समात्ने विश्लेषकहरूको भनाइ छ । बिहीबार १८० वटा कम्पनीका २९ लाख १४ हजार ५१८ कित्ता शेयर १६ हजार ५४५ पटक किनबेच हुँदा १ अर्ब ४ करोड १७ लाख ७० हजार रुपियाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बिहीबार कारोबारमा आएका सबै समूहका परिसूचक बढेका छन् । विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी वृद्धि हुँदा वित्त समूह २ दशमलव ५७, उत्पादन समूह १ दशमलव ६९, जीवन बीमा समूह १ दशमलव ६२, व्यापार समूह १ दशमलव ५९, निर्जीवन बीमा समूह १ दशमलव २७, जलविद्युत् समूह १ दशमलव शून्य ३, अन्य समूह शून्य दशमलव ८८, होटल समूह शून्य दशमलव ८४, लघुवित्त समूह शून्य दशमलव २७ र सामूहिक लगानी कोष समूह शून्य दशमलव २६ प्रतिशत बढेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ९ करोड ४१ लाख ७२ हजार रुपियाँमा १ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै एनएमबि बैंक र एनआईसी एसिया बैंक पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

बिहीबार अघिल्लो दिनमा जस्तै एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले वृद्धि भएको सो लघुवित्तको शेयरमूल्य ५८५ रुपियाँ पुगेको छ । धेरै कमाउनेमा मितेरी डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकका लगानीकर्ता पनि रहेका छन् । यी दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, गुराँस लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

समग्र परिसूचकमा दोहोरो अंकको उच्च वृद्धि हुँदा ओरियन्टल होटलका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको नेप्सेले जनाएको छ ।