होम क्वारेन्टाईन घातक,समुदायमा कोरोनाको आशंका


घनश्याम बगाले,नवलपरासी ।

परिवार सहित भारतको मुम्बईबाट आएका पूर्वी नवलपरासीको कावासोतीका एक दम्पती गुपचुप होम क्वारेन्टाईनमा बसे । सवै कुरो चाल पाएका छिमेकीले पनि तै चुप मै चुप केही थाहा नभए झैं गरे । यो एउटा उदाहरण मात्र हो ।

पछिल्लो समय गैडाकोट नगरका विभिन्न वडामा होम क्वारेन्टाईन बसेका ७ जनामा कोरोना पोजेटिभ देखिए पछि अहिले ति छिमेकीहरु झस्किएकाछन् ।

अस्टेलियाबाट आएर होम क्वारेन्टाईनमा बसेका गैडाकोट ८ का ७८ वर्षीय बृद्ध र ६७ वर्षीय बृद्धामा बुधबार कोभिड १९ पुष्टि भएकोछ ।कोरोना संक्रमित बृद्ध बद्धा दुवै श्रीमान श्रीमती हुन् । यस्तै होम क्वारेन्टिन बसेकी सोही वडाकी २८ वर्षीय गर्भवती महिलामा पनि कोरोना संक्रमण देखिएकोछ ।

होम क्वारेन्टाईन भनिए पनि संक्रमण देखिएकाहरुबाट जानेर या नजानेर स्वयंको परिवार र समुदायमा संक्रमण फैलन सक्ने आशंका बढेर गएको छ । एउटै नगरमा होम क्वारेन्टाईन बसेका ७ जनामा कोरोना पुष्टि भए पछि सम्वन्धित घरहरु सिल गरिएको गैडाकोट नगर स्वास्थ्य प्रमुख झलक पौडेलले बताउनु भयो ।

भारतबाट आएकाहरु भन्दा तेश्रो मुलुकबाट आएकाहरुले पहुच र सामाजिक प्रभावका आधारमा होम क्वारेन्टाईन मै बस्ने गरेको पाईएको छ । होम क्वारेन्टाईन बस्नेले आफू अलगै बसेको छु भने पनि घर वरपर डुल्ने, विदेशबाट ल्याएका मिठाई चक्लेट, कपडा बाढ्ने गर्दा कोरोना समुदायमा फैलने अधिक सम्भावना रहन्छ ।

गैडाकोट नगरपालिकामा विहिबार कोरोना पोजेटिभ देखिएका १८ जनामा ५ जना जनपद प्रहरीका सुरक्षाकर्मी रहेकाछन् । कोरोना रोकथाम र नियन्त्रणमा अग्रपक्तिमा रहेका सुरक्षाकर्मीमा कसरी कोभिड १९ संक्रमण देखियो अहिले गैडाकोट क्षेत्रका स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई टाउको दुखाई भएको छ ।

ईलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीमा संक्रमण देखिए पछि उनीहरुलाई अस्थाई कोरोना अस्पताल, प्राकृतिक चिकित्सालय रजहरको आईसोलेशनमा पठाइएको हो । ईप्रकाका अन्य सुरक्षाकर्मीलाई अलग्ग राखेर दैनिक जनताको सेवा सुरक्षाका लागि अतिरिक्त टिम गैडाकोट झिकाइने नगर प्रमुख छत्रराज पौडेलले बताउनु भयो ।

बे जिल्ला र विदेशबाट आएकाहरुलाई परीक्षण अगाडी अलग्गै निगरानीमा राख्न जिल्लाका सवै नगर र गाउ पालिकाले क्वारेन्टीनको ब्यवस्था गरेकाछन् ।तर कोही होम क्वारेन्टिन र कोही समुदायको क्वारेन्टि बस्ने परिपाटीले समाजमा हुने लाई चैन नहुनेलाई ऐन जस्तो विभेद पनि देखा परेको स्थानीयहरु बताउछन् ।

होम क्वारेन्टिनमा बस्दा सानो लापर्वाहीले पनि एका तर्फ समाजमा संक्रमण फैलन सक्छ भने क्वारेन्टाईन बस्ने संक्रमित भैहाले सवै घर परिवारको परीक्षणमा सरकारको समय र खर्च दुवै लाग्ने स्वास्थ्यकर्मीको भनाई छ ।

जिल्लामा गुपचुप होम क्वारेन्टाईन बस्नेको संख्या बाक्लै रहेकोले समुदायले पनि सचेत भएर बाहिरबाट आउनेलाई क्वारेन्टाईन पठाउनु पर्ने कावासोतीका दिपेन्द्र बस्यालको भनाई छ ।
होम क्वारेन्टाईन बस्ने संख्या बढ्दै गएमा औषधी मुलो विनाको घातक महामारी कोरोना भाईरस भुसको आगो झै समाजमा नफैलला भन्न नसकिने बस्याल बताउनु हुन्छ ।