आवको अन्तिम दिन शेयर बजारमा उत्साह



नेपाल समाचारपत्र, काठमाडौं

आर्थिक वर्ष (आव)को अन्तिम दिन बुधबार शेयर बजारमा उत्साह देखिएको छ । आवको अन्तिम दिन भएको हुँदा लगानीकर्ताहरू हिसाब मिलानमा व्यस्त हुन सक्ने अनुमानविपरीत लगानीकर्ताको उच्च सहभागिता भई नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक बुधबार १४ दशमलव ९० अंकले बढेर १३६२ दशमलव ३४ बिन्दुमा पुगेको छ । कुल १८९ कम्पनीको ३२ लाख १२ हजार ९२४ कित्ता शेयर १ अर्ब १६ करोड रुपियाँभन्दा बढीमा कारोबार भएको छ । बुधबार कारोबार भएका १२ वटा समूहमध्ये ८ वटा समँहको सूचकमात्रै बढेका छन् ।

यस दिन कारोबारका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ यस बैंकको मात्रै १० करोड रुपियाँको शेयर कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख रुपियाँ, एनएमबि बेंैकको ८ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ९० लाख, हिमालयन डिस्टिलरीको ४ करोड ३३ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

बुधबार एनआईसी एसिया लघुवित्तमा सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढेपछि सकारात्मक सर्किट लागेको हो । नबिल ब्यालेन्स फन्डका लगानीकर्ताले पनि यस दिन धेरै कमाएका छन् । यस दिन नबिल ब्यालेन्स फन्डको इकाई मँल्य ९ दशमलव ६३ प्रतिशतले बढेको छ । त्यस्तै वेष्ट फाइनान्सको ९ दशमलव शून्य ९ प्रतिशतले बढेको छ। समग्र परिसूचक बढेको दिन मिथिला लघुवित्तलगायतका केही कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्