धार्मिक तथा ऐतिहासिक कार्यक्रम स्थगित



गुल्मी, (नेस)
धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल गुल्मीको रेसुङ्गामा साउने मेलाका विशेष कार्यक्रम स्थगित भएका छन् ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सर्तकता अपनाउन चलेको लक डाउनले गर्दा साउनभर लाग्ने मेलाका विशेष कार्यक्रम नहुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभूमि रेसुङ्गामा मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो ।

धार्मिक स्थल रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री, चण्डी शिवजीको दैनिक पूजा सञ्चालन भने यथावतरूपमा सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संकंमणको सर्तकता स्वरूप साउनभर कसैले पूजाआज गर्न चाहे मन्दिर दर्शन गर्न चाहे मन्दिर परिसरमा तोकिएका सीमा रेखाबाट गर्न सकिने व्यवस्था मिलाइएको भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्