प्रज्ञाको शब्दकोश मोबाइलमा


काठमाडौं, (नेस)

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६४ हजार शब्द रहेको बृहद् नेपाली शब्दकोश सार्वजनिक गरेको छ । स्थापनाको ६२औं वर्ष पूरा गरी ६३औं वर्ष प्रवेशको अवसर पारी शब्दकोश सार्वजनिक गरेको हो ।

विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी सो शब्दकोश मोबाइल एप्स भर्सनमा पनि उपलब्ध रहेको कार्यक्रममा जानकारी दिइयो । पुस्तकका रुपमा नेपाल तथा भारतामा मात्र प्रयोग गर्न सरल हुने तथा मोबाइल एप्सका रुपमा संसारभर रहेका नेपालीलाई प्रयोग गर्न मिल्ने भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण थोरै मात्र सञ्चारकर्मीको उपस्थितिमा सो एप्सको सार्वजनिक गरिएको थियो । कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले मंगलबार प्रधानमन्त्री केपीशर्मा ओलीलाई बुझाउनुभएको आर्थिक वर्ष २०७५–२०७६ को वार्षिक प्रतिवेदन सदस्य सचिव जगत्प्रसाद उपाध्यायले पढेर सुनाउनुभएको थियो ।

कुलपति उप्रेतीले मोबाइल एप्सका बारेमा उठेका जिज्ञासाको उत्तर दिनुभएको थियो । यस आवमा सम्पन्न भइसकेका र हुन बाँकी कार्यक्रमका बारेमा जानकारी पनि दिइएको थियो ।