दलितमाथिको हिंसा र विभेदविरुद्ध मिडिया ऐक्यवद्धता


नेपाल समाचारपत्र, काठमाडौँ

सञ्चार माध्ययम र सञ्चारक्षेत्रसँग सम्बद्ध संगठनहरुले रुकुमपश्चिम लगायतका दलित हिंसा र विभेद घटनामा न्यायका लागि खवरदारी गर्ने प्रतिवद्धता जनाएका छन् ।

रुकुमपश्चिम नरसंहारका साथै, धनुषाका शुम्भ सदा, रुपन्देहीकी अगिंरा पासीको हत्याका विरुद्ध न्यायका लागि संघर्ष गरिरहेको संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजद्वारा बुधवार आयोजित मिडिया संवादमा सरोकारवालाहरुले प्रतिवद्धता गरेकाहुन्।

नेपालपत्रकार महासंघका महासचिव रमेश विष्ठले जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न र दोषीलाई कानुनी कारवाही गर्नको निम्ति मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो “यीबिषयका लागि समाचार कक्षमा बस्नेहरुलाई घच्घच्याउनु पर्यो, नेपाल पत्रकार महासंघ रुकुम हत्या विरुद्धको आन्दोलनमा निरन्तर संघर्ष गरिरहेको छ हामी सडकमै गएर प्रतिवद्धता गरेका छौं ।”

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काअध्यक्ष डण्ड गुरुगंले भन्नुभयो “जातीय विभेद घटेको छैन भन्ने कुरा रुकुमपश्चिम घटनाले देखाएको छ, संविधान र कानुनमा भएर मात्र हुदो रहेनछ सामाजिक चेतना मूख्य कुरा रहेछ ।”

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले भन्नुभयो “छुवाछूत समाजको कुष्ठरोग हो, कानुनमा समाज छ तर व्यवहारमा विजोग छ सरकारमा भएकाले घटनालाई गम्भीरताका साथ लिएनन ।”

अर्का पत्रकार कपिल काफ्लेको भनाई छ “कानुन चाहिन्छ तर कानुनले मात्र हुदोरहेनछ, रुकुममा जातीय कारणले हत्या भएको छ जात मिल्ने गरी बिहे गर्न आएको भए त्यहा त्यस्तो घटना हुदैन्थ्यो ।”उहाँले धार्मिक संस्कारको पृष्ठपोषण गर्ने ग्रन्थहरुलाई समयसापेक्ष बुझ्न सबैमा आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित, मानवअधिकार पत्रकार संघका अध्यक्ष घनश्याम खड्का, राष्ट्रिय दलित पत्रकार संघ नेपालका उपाध्यक्ष गोपाल बराइली, नेपाल टेलिभिजनका समाचार निर्देशक मनोहरि थापा, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्मा लगायतले बोल्नु भएकाथियो ।

समितिले हत्यामा दोषीलाई कारवाही र पीडित परिवारलाई न्यायका लागि निरन्तर आन्दोलन गरिरहेको छ । गत जेठ १० गते रुकुमपश्चिमको चौरजहरी नगरपालिका ८ सोतीमा जाजरकोटका नवराज विक साथीहरुसहित प्रेमिका शुष्मा मल्ललाई बिहे गर्न भनी लिन जाँदा सोतीका स्थानीयले कुटपीट गरि ६ जना युवाको हत्या गरेको समितिले जनाएको छ ।