प्रहरीलाई घूसको लोभ देखाउने चालक नियन्त्रणमा


नेपाल समाचारपत्र, सिन्धुली

सिन्धुलीमा मंगलबार प्रहरीलाई घूसको लोभ देखाएको अभियोगमा एक बस चालक पक्राउ परेका छन् । कमलामाई नगरपालिका–९ भिमान चेकपोस्टमा चेक–जाँचमा बसेका प्रहरीलाई घूसको लोभ देखाएपछि ना७ख ३२३९ नम्बरको बस चालक काठमाडौं महानगरपालिका–१६ बस्ने सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अनुमतिबिना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएका बेला चेक–जाँचमा बसेका प्रहरीलाई घूस रकमको लोभ देखाएर बस लैजान खोजेपछि इलाका प्रहरी कार्यालय भिमानले बस चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता खत्रीका अनुसार बीपी राजमार्ग हुदै पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा चालक, बस स्टाफ ४ जना र यात्रु १० जना गरी जम्मा १४ जना रहेका थिए । ‘विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र न्यूनीकरणका लागि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अनुमतिबेगर सार्वजनिक सवारीसाधनमा यात्रु ओसार–पसार नगर्न भनेको छ ।

सम्बन्धित जिल्लामा पनि सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु ओसार–प्रसार गर्न अनुमति लिनुपर्छ । बस चालकले अर्को जिल्लाबाट अनुमतिसमेत नलिई बसमा यात्रु राखेर ल्याइएको थियो । यात्रुको कोरोना भाइरससम्बन्धी स्वास्थ्य जाँचसमेत चेक–जाँच गरेको नपाइएकाले बस चालकलाई नियन्त्रणमा लिएका हौं ।’ –प्रवक्ता खत्रीले भन्नुभयो ।

बस चालक अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहेका छन् । उक्त बसमा सवार यात्रुहरू सोही बसमा अन्य चालक खोजी फिर्ता पठाइएको प्रवक्ता खत्रीको भनाइ छ ।