तरकारीले दियो सुखी जीवन



सलिम अन्सारी, प्युठान

जिल्लाको प्युठान नगरपालिका–८ धर्मावतीकी ४१ वर्षीया शान्ता नेपालीले तरकारी खेती गर्न थालेको पनि दुई दशक पुग्नै लाग्यो । पहिला उहाँ निर्वाहमुखी खेती गर्नुहुन्थ्यो । घरमै खानलाई तरकारी फलाउनुहुन्थ्यो ।

शुरूमा खान–लगाउनका लागि समस्या हुँदै आएकोमा तरकारीबाट पैसा हात पर्न थालेपछि घर–परिवारमा उहिले जस्तो न दुःख छ न अभाव । तरकारी खेतीले उहाँको घर–परिवारमा खुसी नै खुसी ल्याएको छ । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी फाइदा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गर्दा सबै खर्च कटाएर वार्षिक ४ लाखभन्दा बढी आम्दानी गरिरहेको शान्ताले बताउनुभयो । तरकारीबाटै छोराछोरीको पढाइ र घरखर्च चलेको शान्ता दम्पतीले बताएका छन् ।

खेतबारीमा तरकारी फलाएर मरन्ठाना र बाग्दुला बजारमा लगेर बिक्री–वितरण गर्दै आएका छन् । पछिल्लो ४ महिनामा तरकारीबाट रु २ लाख कमाएको बताउँदै शान्ताले तरकारीको आम्दानीले दुई छोरीलाई कलेज पढाइरहेको बताउनुभयो । उहाँले छोरीहरू जनता उच्च मावि बाग्दुलामा अध्ययनरत रहेको सुनाउँदै भन्नुभयो– ‘एउटी छोरीले १२ कक्षा पास गरिसकी अर्कीले ११ पढ्दै छिन् ।’

‘दुई बहिनी छोरीको पढाइ खर्च तरकारी बेचेरै टरेको छ’, उहाँले आफ्नो पक्की घर देखाउँदै भन्नुभयो– ‘यो एकतले पक्की घर पनि तरकारी बेचेरै बनाएका हौं ।’ शान्ताका श्रीमान् ५० वर्षीया मुक्तबहादुर नेपालीले अहिले बारीमा काउली, करेला, भेन्टा, काक्रोलगायतका तरकारी फलाएको बताउनुभयो ।

‘वर्षभरि नै तरकारी खेती हुन्छ’, उहाँले भन्नुभयो– ‘सस्तोमै तरकारी बेच्दा पनि राम्रै भएको छ ।’ तर, लकडाउनले भने जति तरकारी बेच्न नसकेको उहाँले बताउनुभयो ।

आफूसँग भएको ४ रोपनी र २ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका शान्ता दम्पतीले बाह्रैमहिना तरकारी फलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्