सशस्त्र प्रहरीसँग आफ्नै भवन नहुँदा समस्या


विनोदसिंह विष्ट, बैतडी

बैतडीमा रहेको सशस्त्र प्रहरीसँग आफ्नो भवन नहुँदा समस्या भएको छ । ३ वर्षअघि स्थापना भएको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वार्टर बैतडीलाई आफ्नो भवन नहुँदा समस्या भएको हो ।

सशस्त्रको गुल्म हाल अस्थायीरूपमा सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताउनुभयो । उहाँले भन्नुभयो– –जग्गा प्राप्त नहुँदा आफ्नो भवन निर्माण गर्न सकिएको छैन् ।’

दशरथचन्द नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म उपलब्ध हुन नसकेको हो । सशस्त्र गुल्मका लागि कम्तीमा १५ रोपनी जमिन आवश्यक पर्ने भए पनि हाल सहकारी डिभिजन कार्यालयको २ रोपनी १३ आनामा बस्न बाध्य भएको छ । बस्नका लागि ठाउँ अभाव हुँदा तालिमलगायतका कामकाजमा समस्या हुने गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ ।

विसं २०७५ सालमा स्थापना भएको गुल्ममा हाल १ सय ५० जना सशस्त्र प्रहरी कार्यरत रहेका छन् । यस्तै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बीओपी पनि भाडाकै भवनमा बसिरहेको छ ।
यसका साथै असार १६ गते पञ्चेश्वरमा स्थापना भएको बीओपीका लागि भने पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा गुल्मको नाममा सिफारिस गरेको छ ।