अब जोहनी वाकर ह्विस्की पेपर बोतलमा


लन्डन, (एजेन्सी)

दुई सय वर्षदेखि विश्व प्रसिद्ध रहँदै आएको ह्विस्की ‘जोहनी वाकर’ अबदेखि बजारमा कागजको बोतलमा पनि किन्न पाइने भएको छ। जोहनी वाकर ब्रान्डका निर्माता कम्पनी डियाजियाले आफूले परीक्षणस्वरूप आगामी वर्षदेखि नयाँ वातावरणमैत्री प्याकेजिङ कार्यान्वयन गर्ने जनाएको छ। अधिकांश जाहनी वाकर काँचको बोतलमा बिक्री हुँदै आएको छ।

यस कम्पनीले आफ्नो ब्रान्डमा सकेसम्म प्लास्टिकको प्रयोगमा कमी ल्याउने उपाय खोजिरहेको छ। काँचको बोतल बनाउँदा पनि इन्धनको खपत हुने र कार्बन उत्सर्जन हुने गर्दछ। डियाजियोलले यस्ता कागजी बोतल बनाउनका लागि पल्पेक्स नामक एक सह–कम्पनी पनि सञ्चालन गर्ने भएको छ। पल्पेक्सले युनिलिवर र पेप्सी कम्पनीका लागि प्याकेजिङको जिम्मा लिने बताइएको छ।

सन् २०२१ को वर्खायामदेखि यस्तो बोतलमा ह्विस्की आउने र यस्तो बोतल पुनः प्रयोगमा ल्याउन सकिनेछ। ग्राहहरू आफैंले बोतललाई सीधै रिसाइक्लिङमा खसाल्न सक्ने उद्देश्यले यसको डिजाइन भएको हो। विश्वका विभिन्न पेय पदार्थ उत्पादन गर्ने कम्पनीले वातावरणीय प्रदूषण घटाउन र आफ्ना उत्पादनलाई थप दिगो बनाउन कागजी बोतलको विकास गर्दै आएका छन्।

तर, अर्को सर्वाधिक प्रसिद्ध पेय कम्पनी कोकाकोलाले भने गत जनवरीमा अधिकांश ग्राहकहरू कोकाकोला एकचोटि मात्र प्रयोग हुने प्लास्टिकको बोतलमा पिउन मन पराउने पाइएकाले त्यसैलाई निरन्तरता दिइने जनाएको थियो । कागजले बन्ने थुप्रै कार्टुनमा चुहावट रोक्नका लागि भित्री भागमा प्लास्टिक कोट गर्ने गरिन्छ।

तर, डियाजियोले आफ्ना कागजी बोतलमा प्लास्टिकको प्रयोग बिल्कुलै नहुने दाबी गरेको छ।
सन् २०१८ मा युरोपभरि खाद्यान तथा पेय पदार्थ प्याकेजिङमा कुल ८२ लाख टन प्लास्टिक प्रयेग गरिएको सरकारी तथ्यांक छ। तर, गिन्नेस र स्मिरनोभ भोड्काको पनि उत्पादन गर्दै आएको डियाजियोले आफ्नो उत्पादित वस्तुको कुल प्याकेजिङ प्रक्रियामा पाँच प्रतिशतभन्दा कम प्लास्टिकको प्रयोग गर्ने गरेको पाइएको छ।