पसल फोडेर ह्विस्की मात्रै लगियो


जोहान्नेसवर्ग, (एजेन्सी)

कोरोना भाइरस महामारी फैलिन नदिन दक्षिण अफ्रिकी सरकारले रक्सीको बिक्री वितरणमा पुनः प्रतिबन्ध लगाएको दुई दिन बित्न नपाउँदै केप टाउनको एउटा रक्सी पसलमा चोरी भएको प्रहरीले जनाएको छ।

न्युज २४ ले मंगलबार बिहान सबेरै लिकर बोथासिङ नामक पसल फोडेर चोरहरूले त्यहँँ भएभरका ह्विस्की लगेको पसल मालिक मार्क केल्लेन्डलाई उद्धृत गर्दै जनाएको छ ।

तिनीहरूले आफ्नो सवारीसाधन प्रयोग गरेर पसलको गेट डोरीले तानेर फोडेका थिए। तिनीहरूले वाइन र ब्रान्डीका बोतललाई छुँदै नछोएको बताइएको छ। केल्लेन्डले यस्ता घटनाले दक्षिण अफ्रिकीहरू रक्सीप्रति कति हुरुक्क हुन्छन् भनी देखाएको बताएका छन्।

आइतबार राष्ट्रपति सिरिल रामाफोसाले स्वास्थ्यमा थप समस्या आउन नदिन वर्षकै दोस्रोपटक रक्सीमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए।

त्यहाँका अस्पतालमा एक साताभित्र आएका ४० हजार केसमध्ये ४० प्रतिशतभन्दा बढी रक्सीसँग सम्बन्धित रहेको चिकित्सकहरूको भनाइ रहेको छ। जसका कारण कोरोना भाइरस संक्रमितहरूको उपचारसमेत प्रभावित हुन पुगेको थियो।