कृषि उत्पादन भारत निर्यातमा सहजीकरण गर्न आग्रह


काठमाडौं, (नेस)

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच मंगलबार महासंघ भेटवार्ता भएको छ । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारीसँग महावाणिज्यदूत पौडेलले भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा नेपाल–भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनको भारत निर्यातमा सहजीकरण, गैरभन्सार अवरोध, दुवै देशका प्रादेशिक सरकारबीचको अन्तर सम्बन्ध विस्तार, आईसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग, कन्कर र सिपिङ कम्पनीहरूको एकाधिकार, नेपालका लागि पैठारी गरिएका तेस्रो मुलुकको बल्क कार्गोका लागि स्थान विस्तार, कन्टेनरको विलम्ब चार्जका कारण नेपाली आयातकर्तालाई परेका समस्या एवं तिनको निराकरणलगायतका विषयमा छलफल हुनुका साथै यी विषयमा महावाणिज्यदूतबाट सक्दो सहयोगको अपेक्षा महासंघका तर्फबाट सो अवसरमा गरिएको थियो ।

महावाणिज्यदूत पौडेलले नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्ने, बन्दरगाहको प्रयोगमा नेपाली व्यवसायीले भोग्नुपरेका समस्या समाधान एवं नेपालको भारत निर्यात प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने र नेपाली निजीक्षेत्रसंँग नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।