मर्नुभन्दा बौलाउनु बेसः एक गतेदेखि सार्वजानिक यातायात सञ्चालन


विजय नेपाली, पोखरा

कोरोना भाइरसका कारणले विगत चार महिनादेखि सम्पूर्ण व्यवसाय ठप्प भएका छन् । कोरोना नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गराउँदा सार्वजानिक यातायात ठप्प हुन पुगे ।
सरकारले विस्तारै देशभर जिल्लाभित्रका सार्वजानिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

तर, पोखरामा भने छोटो दूरीका कुनै पनि सार्वजानिक यातायात भने चलेका छैनन् । सरकारले निर्णय गरे पनि अहिले यातायात नचल्नाका कारण भने आर्थिक स्थिति नै हो । पोखरा यातायात प्रालिले पोखराभित्र चल्ने यातायात सञ्चालन सम्बन्धमा दुईपटक बैठकसमेत डाकिसकेको छ । तर पनि सेवा दिन नसक्ने स्थिति देखिएको छ ।

‘सरकारले सञ्चालन गर्न दिने निर्णय गरेसँगै हामीले सञ्चालन गर्न सबैलाई आग्रह ग¥यौं तर सवारी तत्कालै निकाल्न सक्ने स्थिति देखिएन’, पोखरा यातायात प्रालि सञ्चालक समितिका अध्यक्ष देउप्रसाद गुरुङले भने– ‘अधिकांश गाडी लोनमा छन् । गाडी निकाल्न कम्तीमा पनि १ लाख रुपियाँ खर्च छ । अहिले रकम छैन कसरी निकाल्ने ? राज्यले सहयोग गर्न आवश्यक छ ।’

लामो समयदेखि गाडी थन्किएका हुँदा ब्याट्री, टायर, मोबिल, सिट, ब्रेकलगायतका सामान फेर्नुपर्ने, गाडीलाई ग्यारेजसम्म पनि लाने स्थिति नभएको भन्दै राज्यले कर्जाको समेत व्यवस्था गरे मात्र सवारी निकाल्ने उनले बताए ।

मंगलबार बसेको कार्यसमितिको बैठकले केही मात्रामा भए पनि सवारी सञ्चालनमा ल्याउने तयारी गरेको बताए । सरकारले सवारी सञ्चालनका लागि चालक र सहचालकका लागि सुरक्षा सामग्रीका उपलब्ध गराइदिनुपर्ने बताउँदै उनले भने– ‘सरकारको निर्णय निल्नु न ओकल्नु छ । गाडी सञ्चालनका लागि केही नीति लिएर आउनुपर्ने हो तर सरकारले त्यसो गरेको देखिएन । सरकारले आफ्नो स्वार्थ मात्र हेरको छ ।’

पोखरामा ३ सय ७८ वटा नगर बस छन् ती सबैको अवस्था अहिले चलाउने स्थितिको छैन । कोरोनाको डर गाडी चले पनि यात्रु पाउन समस्या हुने देखिन्छ । ‘गाडी गुडाउन थालेपछि त बैंकको फोन थाम्नै सकिन्न । गाडी चल्नेबित्तिकै मान्छे पाइन्छ भन्ने पनि छैन’, उनले भने– ‘नगर बसमा अधिकांश लगानी बैंकको रहेको र ५० प्रतिशत बढी स्वरोजगार चालक रहेका छन् । खाडीमा २÷४ लाख कमाएर आए । गाडीमा लगानी गरे उनीहरूको जस्तो पीडा त कसलाई होला र ?’

पोखरामा २३ सयको हारहारीमा ट्याक्सी छन् । ती ट्याक्सीमा ८० प्रतिशत स्वरोजगार छन् भने बाँकी २० प्रतिशतले मजदुर राखेका छन् । नगर बसजस्तै हालत ट्याक्सीको पनि छ । तर, केही ट्याक्सी भने सञ्चालनमा आएका छन् । केही दिन सवारी निकाले पनि निरन्तर सञ्चालन गर्न सक्ने स्थिति नदेखिएको अध्यक्ष गुरुङले बताए । ‘अहिले गाडी निकालेर चलाउनु भनेको मर्नुभन्दा बौलाउनु बेस भनेजस्तै हो । हिजोका दिनमा ३ सय गाडी चल्थे अहिले ३ सय गाडी चलाउन नसके पनि ५० प्रतिशत गाडी चलाउने तयारी गरेका छौं । तर, निरन्तर दिन गाह्रो छ ।’ –उनको कथन छ ।