ओली–प्रचण्डबीचको वार्ता सकियो, यस्तो भयो सहमति


नेपाल समाचारपत्र, काठमाडौं

शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

राजीनामा प्रकरणपछि दुई अध्यक्षबीच संवाद नै हुन छोडेपछि पार्टीका दोस्रो तहका नेताहरुको दबाबमा अध्यक्षद्वयको बीचमा वार्ताले निरन्तरता पाउँदै आएको छ । प्रचण्ड गृहजिल्ला चितवनमा तीन दिन बिताएर फर्किएपछि पुनः ओली र प्रचण्डबीच मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ । छलफलका क्रममा सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निष्कर्षसहित छलफल सकिएको प्रचण्डको सचिवालयले बताएको छ ।

स्थायी कमिटीको बैठक जारी रहेको बेला प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भारतले आफ्नो सरकारलाई हटाउन लागेको विषय सार्वजनिक गरेपछि पार्टीभित्रैबाट ओलीको राजीनामा मागिएको थियो । बैठकमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने पक्षमा दबाब बढेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्ड सहमति खोज्न वार्तामा जुटेका हुन् । अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिका लागि समय लिएर बैठक साउन २ गतेसम्म स्थगित गरेका छन् ।

मंगलबारको वार्तामा एकता गर्दाको आधार, सचिवालयको निर्णयअनुसार समाधान खोज्ने गरी छलफल भएको बताइएको छ । आजसम्मको छलफलमा ओली र प्रचण्डबीचमा कायम भएको आशंकाको दूरी कम भएको र बिहीबारको बार्तामा निष्कर्ष दिने गरी गृहकार्य भइरहेको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार अब धेरैपटक वार्ता भइसकेकाले निकास दिनुपर्ने पक्षमा अध्यक्षद्वय ओली प्रचण्ड पुगेका छन् । सकेसम्म दुवै अध्यक्ष एकले अर्कोलाई गलाएर बढी शक्ति लिने नीतिअन्तर्गत वार्तामा जुटेको बताइएको छ । बालुवाटारमा अध्यक्षद्वय ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो । गृहजिल्ला चितवन पुगेर अध्यक्ष प्रचण्डले पार्टी विभाजन हुन नदिने अभिव्यक्ति दिएपछि तत्कालका लागि नेकपाभित्रको आन्तरिक संकट टरेको छ ।

यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको छ । उहाँले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा विवाद उत्पन्न गरेको बताउदै ओलीले उक्त अभिव्यक्ति फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नुपर्ने बताउनुभएको हो ।

नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असार २९ गते वालुवाटारमा आयोजित एक कार्यक्रमा रामको जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तीखो प्रतिक्रिया उत्पन्न गरेको छ ।

‘केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरू जुटाउन, आएका अनुमानहरूको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ’, गौतमले भन्नुभयो– ‘उहाँले उठाउनुभएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारले सार्वजनिक गर्नुपर्दथ्यो ।’

भगवान् रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिस्टहरूका निम्ति केही फरक नपर्ने बताउँदै उहाँले रामका भक्तहरू नेपाल र भारतमा ठूलो संख्यामा रहेकाले नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरूको नेपाल रहँदासम्म प्रशंसा गरिरहने बताउनुभयो ।

‘संसारमा धेरै धर्महरू छन्, धेरै धार्मिक सम्प्रदाय छन् र तिनका अनुयायी करोडौंको संख्यामा रहेका छन् । उनीहरूको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसै गरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर न त राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरू धर्म निरपेक्ष हुन चाहन्छौं’ –उहाँले भन्नुभयो ।

उपाध्यक्ष गौतमले प्राविधिक तथा इतिहासविद्को टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अनुरोध पनि गर्नुभएको छ ।