प्रतिनिधिसभा विकास समितिद्वारा धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन


न्युज अफ नेपाल, काठमाडौं ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गर्नुभएको छ ।

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो ।

अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिनुभयो ।

समिति सभापति खड्काले विभिन्न समस्याको बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्यहरु अघि बढाएको बताउनुभयो ।

उहाँले संसदका समितिबाट प्राप्त सुझाव तथा निर्देशनहरुले पुनर्निर्माणका कार्यहरु गर्न थप सहयोग पुगेको धारणा व्यक्त गर्नु भयो ।