आईएसबीएन सेवा अनलाईनबाट लिन सकिने


न्युज अफ नेपाल, काठमाडाैँ ।

त्रि.वि. केन्द्रीय पुस्तकालयले आज एक कार्यक्रमका वीच पुस्तकलाई प्रदान गरिन अन्तराष्ट्रिय मानक पहिचान चिन्ह (आई.एस.वि.एन.) सेवालाई अनलाईन मार्फत प्रदान गर्ने व्यवस्था गरेको छ । त्रि.वि. का शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अर्विन्द कुमार केशरी ले लेख्नु भएको अ टेस्ट बुक अफ हाइगर सेकन्डरी बायोलोजी  पुस्तकलाई ९७८–९९३७–९९९८–१६ आई.एस.वि.एन. अनलाईनबाट प्रदान गरी सेवाको समुदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै त्रि.वि. का शिक्षाध्यक्षले अहिलेको बदलिदो परिस्थितिमा त्रि.वि. ले प्रविधिलाई आत्मसाथ गर्दै अनलाईन सेवालाई विस्तार गर्दै लैजाने योजना रहेको बताउनु भयो । विश्वविद्यालयले विपतलाई अवसरको रुपमा प्रयोग गर्दै प्रविधिमैत्री अध्ययन अध्यापन कार्य संञ्चालन गर्न सुरुवात गरेको पनि बताउनु भयो ।

कार्यक्रममा त्रि.वि. अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक प्रा. डा. भुप प्रसाद धमला, केन्द्रीय पुस्तकालयका पूर्व प्रमुखद्वय जनार्दन ढुङ्गाना र इन्द्र प्रसाद अधिकारी, नेपाल पुस्तक प्रकाशन तथा विक्रेता संघका अध्यक्ष लिखत पाण्डे लगायतले मन्तव्य राख्दै अब लेखक तथा प्रकाशकहरु आई.एस.वि.एन. लिनका लागि मात्र त्रि.वि.केन्द्रय पुस्तकालय आईरहनुपर्ने झन्झटबाट मुक्त गराउदै सफ्टवेयरलाई अध्यावधिक गर्दै सकेसम्म प्रयोग गर्न सजिलो हुने खालको बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रम त्रि.वि. केन्द्रीय पुस्तकालयका प्रमुख पूर्ण लाल श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै पुस्तकालय प्रमुख श्रेष्ठले अब त्रि.वि. केन्द्रीय पुस्तकालयले प्रदान गर्ने सेवालाई प्रविधिमैत्री बनाउदै लैजाने साथै पुस्तकालयले छिटै अनलाईन रिसोर्सेसहरु खरिद गरी प्रत्येक पाठकले आफ्नो इमेल आईडीको प्रयोग गरी जुनसुकै ठाउँबाट जुनसुकै समयमा पनि रिसोर्सेसहरु हेर्न सक्ने गरी रिमोट एक्सएस

र सेवा प्रदान गर्ने योजना रहेको बताउनु भयो । पुस्तकालयका सह पुस्तकालयध्यक्ष इन्दीरा घिमिरेले स्वागत मन्तव्य राख्नु भएको भने कार्यक्रमको सञ्चालन पुस्तकालय अधिकृत विजय शर्माले गर्नु भएको थियो ।

सन् २००० जनवरी २६ देखि नेपालबाट प्रकाशन भएका पुस्तकहरुलाई अन्तराष्ट्रिय मानक पहिचान चिन्ह (आई.एस.वि.एन.) प्रदान गर्ने राष्ट्रिय एजेन्सीको रुपमा काम गर्दै आएको केन्द्रीय पुस्तकालयले २० बर्षको अवधिमा ५५,००० हजार पुस्तकलाई आ.एस.वि. एन. प्रदान गरी सकिएको छ भने ४४,३६९ पुस्तकहरुको कम्प्युटरमा डाटा इन्ट्री भई वेबमा हेर्न सकिने गरी व्यवस्था गरेको छ र बाँकी पुस्तकहरु पनि कम्प्युटरमा इन्ट्री गर्ने काम हुदै गईरहेको छ ।