जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा!

ललितपुर ३ वडामा जेट मेसिन

282
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका– ३ वडामा ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन सञ्चालनमा ल्याइएको छ ।

वडाले चालू आर्थिक वर्षको बजेटबाट ७७ लाख तिरेर सो जेट मेसिन खरिद गरिएको वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो ।

सो जेट मेसिन विभिन्न प्रयोजनका– लागि प्रयोग गर्न सकिने खालको छ । जेट मेसिनले २० मिटर गहिराईसम्म ढल सफा गर्न सक्ने, सफा पानीसंगै ढलको पानी तानेर राख्न, ढल भित्र बोरा, प्लास्टिक अड्किएमा निकाल्न सकिने छ । सो जेट मेसिनले जाम भएको ढलको पानी ट्रंयाकीमा राख्ने र सफा पानीले हाई प्रेसरको जेट मेसिन मार्फत सफा गर्ने गर्दछ ।

‘देशभरमा यस्तो जेट मेसिन सञ्चालन गर्ने पहिलो वडा हुनुपर्दछ । महानगरपालिकाले मात्र जेट मेसिन खरिद गर्ने गरेकोमा यहाँ त वडाले  सञ्चालन गरेको छ ।’ मेशिनको शुभारम्भ गर्दै ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले भन्नुभयो । यस कार्यले अरु वडालाई उच्चत्तम प्रविधियुक्त मेसिनबाट काम गर्न प्रोत्साहन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

वडाले उच्चत्तम प्रविधियुक्त मेसिन सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट प्रविधिले नै जनतालाई गुणस्तरीय सेवा दिन सकिने धारणा राख्नुभयो । यस अघि शव बाहन सञ्चालन गरेको वडाले अब ज्येष्ठ नागरिकहरुको लागि निशुल्क विधुतीय गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सो कार्यक्रमा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।