किसान कालोबजारीकाे दोहरो मारमा, ट्रेडिङ्गकाे मल किसानसम्म पुगेन


सुभेन्द्र दास, लहान ।

लामो समयदेखि जारी लकडाउनका कारण पीडामा रहेका किसान मलखादमा भइरहेको कालोबजारीका कारण दोहरो मारमा परेका छन् । गत वैशाख र जेठ महिनामा ठूलो परिमाणमा कृषि सामग्रि संस्था र साल्टट्रेडिङ्गद्वारा मलखाद वितरण गरिएको भए पनि किसानले पाउन सकेका छैनन् ।

सरकारी अनुदानमा आएको मलखाद व्यापारीले हात पारेको किसानको गुनासो छ । नियमनकारी निकायले लकडाउनमा अनुगमन गर्न नसकेका कारण सम्बन्धित निकाय र व्यापारीको मिलोमतोका कारण किसानले मलखाद पाउन नसकेर बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

सिरहामा गत वैशाखदेखि मलखादको अभाव छ । व्यापारिक स्रोतका अनुसार संस्थान प्रमुख र व्यापारीको सेटिङ्गमा मलखाद वितरणमा अनियमितता बढेको हो । अनुदानको मलखाद खरिद गरेर उनीहरुले किसानलाई मनपरी मूल्यमा बिक्री वितरण गर्ने गरेको बिष्णुपुर गाउँपालिकाका किसान सुरेश कुमारले बताए ।

‘लकडाउनका कारण मल आउन नसकेको भन्दै अभाव देखाएर उनीहरुले चर्को मूल्यमा बेच्न थालेका छन्,’ उनले भने । उचित मुनाफासहित प्रतिबोरा ८ सय रुपैयाँमा पाउने युरिया मल १२ सयदेखि १३ सय र २२ सयमा पाउने अनुदानको डिएपी मल २५ देखि २७ सय रुपैयाँसम्ममा व्यापारीहरुले बेचेर कालोबजारी गरिरहेको किसानको गुनासो छ ।

वैशाखदेखि नै बजारमा सुपथ मूल्यमा मलखाद नपाएर किसानहरु चर्को मूल्यमा खरिद गर्न बाध्य भएको सिरहा नगरपालिका–११ का किसान अन्तशरण कामतीले बताए । स्रोतका अनुसार संस्थानबाट सहकारीमार्फत प्राप्त हुने मलखाद किसानसम्म पुग्यो कि पुगेन भनेर विश्वस्त हुन मलखाद लिने किसानको नामावली र हस्ताक्षरसहितको भर्पाइ पेस गर्नु पर्दछ ।

सिरहाका अधिकांश सहकारी संचालकहरुले अनुदानमा आएको मलखाद मनपरी भाउमा बिक्री गर्ने र पछि नक्कली किसानको नाम लेखेर संस्थानमा पेस गर्ने गरेको किसानको गुनासो छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाईले जिल्लामा मलखादमा कालोबजारी भईरहेको बारे आफुलाई जानकारी नभएको र त्यस्तो कही कतैबाट गुनासो नआएको, प्रमाण सहित गुनासो आएमा त्यस्ता व्यापारीलाई कारवाही गरिने बताए ।