ओली–प्रचण्ड विवाद: लेनदेनमा समाधान खोजिँदै  


  • मधुसूदन रायमाझी, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले चासोको विषय बनेको छ ।

बुधबार बसेको जारी स्थायी कमिटी बैठकमा पाँच जना नेताले आ–आफ्नो धारणा राखेसँगै बैठक स्थगित भएको थियो । नेकपाभित्र विशेष गरी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लेनदेनमा कुरा मिल्न नसक्दा यसपटकको स्थायी कमिटी बैठकमा अचानक प्रधानमन्त्रीको राजीनामाको विषयले प्रवेश पायो ।

राजीनामा दिनुपर्ने पक्षमा स्थायी कमिटीका सदस्यहरुबीच जनमत बढेपछि प्रधानमन्त्री ओलीले बैठकमा फेस गर्ने भन्दा पनि अन्य विकल्पबाट समस्याको समाधान खोजी शुरु गर्नुभएको छ ।

बुधवार बिहान मात्र आफू निकटका स्थायी कमिटीका सदस्य र मन्त्रीसँग समस्या समाधानको विकल्पका बारेमा सुझाव दिनुभएको थियो । दुवै पद छोड्न दबाब दिए पनि अहिले प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक रोज्न ओलीलाई आग्रह गरिरहेका छन् ।

पार्टी एकता भएको दुई वर्ष बितिसक्दा प्रचण्ड अधिकारविहीन अध्यक्षका रुपमा रहनुभएको छ । पार्टी एकता हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने पूर्वसहमतिप्रति ओलीले बेवास्ता गरेपछि प्रचण्डले पाँच वर्ष नै सरकारको नेतृत्व ओलीलाई दिन राजी हुँदै कार्यकारी अध्यक्षको सम्पूर्ण अधिकार खोज्नुभएको थियो । तर पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई अधिकार नदिएपछि स्थायी कमिटी बैठकमा प्रचण्डले ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग्नुभएको थियो ।

नेकपाका स्थायी कमिटीका सदस्य मणि थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले पद बाँडफाँडकै विषय प्रधान भएर आएको छ, प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको नेतृत्व प्रचण्डले गर्ने गरी लेनदेन भएको अवस्थामा अहिले देखिएको विवाद सहजै समाधान हुन्छ ।’

जहाज दुई पाइलटकै हातमा छ: भट्टराई

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपाभित्रको विवाद समाधान गर्ने जिम्मेवारी दुई पाइलटको हातमा रहेको बताउनुभएको छ । उहाँले पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड नै जम्बो जहाजको पाइलट भएकाले जोगाउने वा डुबाउने दुवै जनाको जिम्मेवारी भएको बताउनुभएको हो । उहाँले मन्त्री र मुख्यमन्त्री फेरेर भए पनि पार्टी मिलाएर अघि बढ्नुपर्ने प्रस्ताव बैठकमा राख्नुभएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा भट्टराईले पार्टी मिल्छ भने आफूहरू मन्त्री छोड्न तयार रहेको बताउँदै भन्नुभयो– ‘तपाईंहरूलाई काम गर्न अप्ठेरो भएको हो भने मन्त्री र मुख्यमन्त्री फेर्नुस् । हामी मन्त्री छोड्न तयार छौं । तपाईंहरू दुई जनाले नै हामी जम्बो नेकपाको पाइलट हौं भन्नुभएको हो । संकटमा जहाज हाँक्न नसक्ने हो भने आ–आफ्नो बाटो लाग्नुस् ।’

उहाँले दुई अध्यक्षलाई तपाईंहरूले पार्टी बाध्यताले मिलाएको हो कि इच्छाले भनेर पनि प्रश्न गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओलीले बुधबार बिहान गरेको छलफलमा पनि मन्त्री भट्टराईले नेताहरूले फराकिलो भएर सोच्नुपर्ने सुझाव दिनुभएको थियो ।

‘तपाईं पनि गोलघरबाट मृत्युलाई जितेर आउनुभएको हो, प्रचण्डले पनि गोलाबारुद जितेर आउनुभएको हो’, भट्टराईले बैठकमा भन्नुभयो– ‘धेरै नेता मृत्यु जितेर आएका छन्, त्यसैले फराकिलो भएर सोच्नुपर्छ, पार्टी एकता बलियो हुँदा सबै बलियो हुने हो अन्यथा सबै कमजोर भइन्छ ।’

बुधवार बोल्ने पाँच जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा नेताहरु योगेश भट्टराई, मातृका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राख्नुभएको हो । पाँचै नेताले प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिको खुलेर आलोचना गरेका थिए ।

त्यसै गरी पोखरेल र यादवले ओलीको राजीनामाभन्दा अर्को विकल्प नै भएको धारणा राख्दै पहिलो सर्त नै ओलीको राजीनामा भएकोमा जोड दिनुभएको थियो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको जानकारी दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो । यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।

विशेष गरी गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको छ ।

पार्टीभित्र अचानक राजीनामाको विवाद आएपछि प्रधानमन्त्री ओलीले बुधबार बिहानै आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुसँग छलफल गर्नुभएको थियो ।