ललितपुर महानगरपालिकाको नगरसभा स्थगित

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

वडा सदस्यहरुले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे समिक्षा गर्नुपर्ने धारणा राखे लगतै बुधबार ललितपुर महानगरपालिकाको नगरसभा स्थगित गरिएको छ ।

शंखमुलस्थित यल दरबारमा भएको पाँचौ नगरसभाको बन्द सत्रको शुरुमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको लागि प्रस्तुत नीति तथा कार्यक्रम बारे बोल्न वडा सदस्यहरुलाई आग्रह गर्नुभयो । तर सभामा बोल्ने सबै वडा सदस्यहरुले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको समिक्षा नगरीकन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफल गर्न उचित नहुने मत राखे ।

नगरसभामै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम समिक्षा गर्नुपर्ने उनीहरुको धारणा रहेको छ । ‘विगतको समिक्षा नगरीकन,भविष्यको नीति बारे कसरी बोल्ने ? शुरुमा चालूको योजना कार्यान्वयनको समिक्षा गरौं । त्यसमा भएका कमीकमजोरी सच्याएर आगामी आर्थिक वर्षको नीति र कार्यक्रमको छलफल गरौं ।’ सभामा बोल्ने अधिकाशं सदस्यहरुको माग थियो ।

यसरी बोल्ने वडा सदस्यहरुमा ललितपुर महानगरपालिका वडा– ५ का सदस्य शोभा श्रेष्ठ, ललितपुर महानगरपालिका– ६ का राजिव श्रेष्ठ, वडा – २२ का सागर तुलाधर, वडा– २४ का वडाअध्यक्ष दिनेशजंड्ड पाण्डे रहनुभएको छ ।

महानगरपालिकको नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने कार्यमा वडा सदस्यहरुको कुनै अधिकार नभएको भन्दै नगरसभामा नबोलेपछि कहिले कहाँ बोल्ने भन्ने प्रश्न पनि उनीहरुको थियो । त्यसपछि थप तयार गर्नुपर्ने भन्दै नगरसभाका सभाअध्यक्ष एवं महानगरपालिकाका मेयर महर्जनले यही असार २१ गते आईतबारसम्मका लागि बैठक स्थगित गरेको निर्णय सुनाउनुभयो ।