३ चरणमा रुवेला-दादुरा खोप अभियान चल्दै

जन्मेको ९ महिनादेखि माथि र ५ बर्ष मुनिका बालबालिका खोपका लक्षित समूह


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरमा अहिले रुवेला दादुरा खोप अभियान चलिरहेको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्ने लक्ष्य थियो । कोभिड — १९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले बन्दाबन्दी (लकडाउन) जारी गरेपछि खोप कार्यक्रम स्थगित भएको थियो । त्यस बेला कार्यक्रम चलाउन ८० जना खोप कार्यकर्तालाई अभिमुखीकरण दिइएको थियो ।

खोप कार्यक्रमअन्तर्गत असार ११, १२ र १३ गते ३ दिन वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा कार्यक्रम चलाइयो । ७९ वटा वुथ ६९ जना खोप कार्यकर्ता, १३८ जना स्वयमसेवक परिचालन गरेर चलाइएको कार्यक्रममा ३५ हजार ९७४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको थियो ।

यस्तै दोश्रो चरणमा महानगरका वडा १, २, ३, ४, ५, ११, १२, २६, २७, २८, २९ ३० र १३ गरी १३ वटा वडामा कार्यक्रम चलाइयो । यी वडामा ९३ वटा बुथमा ६८ जना खोप कार्यकर्ता र १३८ जना स्वयमसेवक परिचालन गरियो । यी वडामा २९ हजार ५१४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको थियो ।

आज, वडा १४ देखि २५ सम्म १२ वटा वडामा खोप कार्यक्रम शुरु भएको छ । ती वडाका ९५ वटा वुथबाट भोलि र पर्सि गरी कार्यक्रम चल्नेछ । यसकालागि ६३ जना खोप कार्यकर्ता र १२६ जना स्वयमसेवक परिचालन गरिएको छ । यी वडामा लक्षित बालबालिकाको संख्या ३४ हजार ६०१ रहेको छ ।

यी ३ चरणमा छुटेका बालबालिकालाई असार २० गते वडा क्लिनिकबाट खोप सेवा उपलब्ध गराइनेछ ।
महानगरभित्र १ लाख उनान्नब्बे बालबालिकालाई खोप दिइने लक्ष्य छ ।

रुवेला दादुराको खोप जन्मेको ९ महिनादेखि माथि र ५ बर्ष मुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रुपमा यो कार्यक्रम चलाउनु परेको हो । महानगरका खोप अधिकृत सूर्य खड्का भन्नुहुन्छ — यस अघि आर्थिक बर्ष २०७२र०७३ पनि यो अभियान चलाइएको थियो ।

सन् २०२३ सम्ममा नेपालबाट रुवेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तरराष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको हो ।

काठमाडौं महानगरले २०७४ पुष २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ । कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्बेक्षण गर्दा, उनीहरुले १ बर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ ।

यस सर्वेक्षणका समयमा ती बालबालिकाहरु कम्तीमा १८ महिनादेखि त्यसै स्थानमा बसोबास गरेको हुनुपर्छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १ बर्ष भित्रका बालबालिकालाई बि. सि. जि. खोप १ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा पेन्टाभ्यालेन्ट (डि.पि.टि., हेपाटाइटिस बी, हिब) — ३ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा ओरल पोलियो, र ९ महिना पूरा भएपछि दादु्रा रुबेलाको खोप — १ डोज दिएको हुनुपर्छ ।
खोप लगाएकै कारण नेपालबाट विभिन्न प्रकारका संक्रामक रोगहरु निवारण तथा नियन्त्रण भएका छन् ।

तीमध्ये सन् १९७७ मा बिफर रोग उन्मुलन भएपछि थप खोपप्रति नेपाल उत्साहित भएको पाइन्छ । अन्य रोगहरुको अवस्था हेर्ने हो भने सन् २००५ मा धनुटङ्कारबाट हुने मातृ तथा नवजात शिशु मृत्यु निवारण भइको देखिन्छ । त्यस्तै २००६ देखि जापानीज इन्सेफलाइटिस नियन्त्रणमा आएको छ । सन् २०१० अगष्टदेखि पोलियो शून्य अवस्था कायम रहेको छ भने त्यसै बर्षदेखि नेपाल दादुरा नियन्त्रण र निवारणतर्पm उन्मुख रहेको छ ।

नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम शुरु गरिएको हो । सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसंख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित र ३ प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो भने यो संख्या २०१६ मा आइपुग्दा पूर्ण खोपबाट बञ्चित हुने बालबालिकाको संख्या बढेर २२ प्रतिशत र कुनै पनि खोप नपाउने बालबालिकाको संख्या घटेर १ प्रतिशतमा झरेको देखिएको थियो ।

यो तथ्याङ्कले खोप नलिनेलाई खोपको पहुँचमा ल्याउनु जत्तिको महत्बपूर्ण छ, खोप लिएर हराउने बालबालिकालाई सबै खोप दिने वातावरण तयार पार्नु पनि उत्तिकै महत्वपूर्ण भएको देखाएको छ ।
बिगतका अवस्था र तथ्याङ्क बिश्लेषण गर्दा महानगरले प्रभावकारी र गुणस्तरीय नियमित खोप सञ्चालन गर्न प्रत्येक बर्ष हुने घरधुरी सर्वेक्षण, समीक्षा, सुक्ष्म—योजना अद्यावधिक, पूर्ण खोप प्रमाणिकरण जस्ता कार्यक्रममा ध्यान पु¥याउन आवश्यक देखिएको छ ।