स्वास्थ्यकर्मी नहुँदा अस्पताल आफैं बिरामी


वासुदेव शर्मा, जाजरकोट
जाजरकोट जिल्ला अस्पतालमा नवौं तहको स्वास्थ्य सेवा व्यवस्थापनको दरबन्दी सिर्जन गरिएको पाँच वर्ष बितिसक्दा पनि कन्सल्टेन्ट पेडियाट्रिसियन, कल्सेल्टेन्ट अक्ट्रेटिस गाइनोकोलोजिस्ट, कनसल्टेन्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट र कन्सलटेन्ट जनरल फिजिसियन पदको दबवन्दी सिर्जना भएको पाँच वर्ष बितिसक्दा पनि उक्त पदका विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन सकेको छैन ।

अस्पतालको पूर्वाधार विकास गरी दरबन्दीअनुसारका चिकित्सकको पदपूर्तिका लागि पटक–पटक माग गरे पनि सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । पूर्वाधार अभाव, आवश्यक उपकरण र स्वास्थ्यकर्मीको अभावले आएका चिकित्सक पनि वस्न मान्दैनन्, पूर्वाधार विकासका लागि पहल भइरहेको भए पनि काम हुन सकेको छैन ।’ –उहाँ भन्नुहुन्छ ।

अस्पताल विकास समिति कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र संघीय सरकार स्वास्थ्य मन्त्रालयले करार सेवामा नियुक्त गरी पठाएका कार्यालय सहयोगीसहित ४३ जना स्वास्थ्यकर्मीले अस्पताल खोल्ने र बन्द गर्ने गरेका छन् ।

आयुर्वेद चिकित्सक नवौं तहका पाँच जना मेडिकल अधिकृत, डेन्टल सर्जन, फिजियोथेरापी सहायक मेडिकल ल्याव असिस्टेन्ट तीन जना अहेवलगायत ५० वटा पद स्थापना कालदेखि पदपूर्ति हुन सकेको छैन । जाजरकोट अस्पतालमा ६५ जनाको दरबन्दी रहेकोमा १५ पद मात्र पदपूर्ति छ ।

१५ जनामध्येका मेडिकल अधिकृत डाक्टर कृष्णजंग शाह, मेडिकल अधिकृत डाक्टर धर्मराज रेग्मी र स्टाफ नर्स विष्णु शाह तलबी अध्ययन बिदा र स्वास्थ्य सहायक दीपबहादुर वली बेतलबी अध्ययन बिदामा छन् ।

अधिकांश पदपूर्ति नभएको र भएका स्वास्थ्यकर्मी काज तथा बिदामा बसेपछि करार सेवामा नियुक्त स्वास्थ्यकर्मीको भरमा ५० शैय्याको जिल्ला अस्पताल सञ्चालन भएको छ । नागरिकलाई स्वास्थ्य सेवा दिने अस्पताल आफैं पर्याप्त स्वास्थ्यकर्मी र उपकरण अभावले थला परेको हो ।

१५ शैय्याको जिल्ला अस्पताललाई २०७२ सालमा स्तरोन्नति गरी ५० शैय्याको बनाउने निर्णयसँगै विशेष सेवाका लागि चिकित्सकको दरबन्दी सिर्जना गरिएकोमा हालसम्म पदपूर्ति हुन नसकेर स्तरोन्नति कागजमै सीमित भएको छ ।

सामान्य रोगको उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै ५० शय्ैयाको जिल्ला अस्पतालले रेफर सेन्टर र शवको पोस्टमार्टमबाहेक अरू स्वास्थ्यसम्वन्धी सेवा दिन नसकेको भेरी नगरपालिका–४ का बलबहादुर विक बताउनुहुन्छ ।

छात्रवृत्ति करारमा नियुक्त भएका मेडिकल अधिकृत कार्यरत छन्, आवश्यक उपकरण, पूर्वाधार अभावमा काम गर्न सकेका छैन । भिडियो एक्सरे बिग्रिएको लामो समय भयो अझै मर्मत हुन सकेको छैन ।

एक्सरे सेवा नहुँदा बिरामी पश्चिम रुकुमको चौरजाहारी अस्पताल जान बाध्य छन् । खुट्टामा चोट लागेर एक्सरेका लागि अस्पताल पुगेकी भेरी नगरपालिका–२ की कमला वली एक्सेर मेसिन बिग्रिएको जानकारी पाएपछि ‘अस्पताल आफैं बिरामी भएको रहेछ हामीलाई के उपचार गर्न सक्ला’ भन्दै औषधि उपचारका लागि चौरजहारी अस्पताल जानुभयो ।

पूर्वाधार, आवश्यक उपकरण र प्रयाप्त जनशक्तिको अभावले सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डाक्टर सुनिल पुनले बताउनुभयो ।

पाँच वर्षअघि ५० शैय्यामा स्तरोन्नति हुँदा जिल्लावासी सबै प्रकारका स्वास्थ्य सेवा पाउने आशामा निकै खुसी भएका थिए ।