म्याग्दीमा ४० प्रतिशत रोपाइँ सकियो (फोटोफिचर)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

धान रोपाइँका लागि उपयुक्त मानिने वर्षात्को समय मध्य असार बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र ५ ओटा गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरुमा धान रोपाइँ गरिएको हो ।

यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको अधिकांश ठाउँमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको हिउँदबाट नै पटकपटक हिमपात तथा वर्षा परिरहेको हुँदा यसवर्ष समयमै पर्याप्त मनसुनी वर्षा भएकाले पनि पहाडी क्षेत्रमा खेत रोपाइँ गर्न सहज भएको स्थानीय कृषकहरु बताउँछन् ।

गत वर्षको तुलनामा यसवर्ष समयमै मनसुन परेको हुँदा धान रोपाइँ गर्न कृषकलाई सहज हुनुका साथै धान उत्पादन समेत बढने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताए । उनले म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रसहित मकै खेती नगरिएको तल्लो क्षेत्रमा पनि धमाधम रोपाइँ भैरहेको भन्दै यसपटक धान खेतीको हेक्टर जमिन वृद्धि भएकाले उत्पादन बढ्ने जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारण यसपटक गाउँघरमा खेती किसानी गर्न युवा जनशक्ति भएकाले बाली लगाउन सहज हुनुका साथै उत्पादन बढने कृषि प्राविधिकहरुको भनाइ छ ।यसवर्ष कोरोना भाइरसका कारण रोपाइँ महोत्सव कार्यक्रम नगरिएको हुँदा ग्रामीण भेगका कृषकहरुले सुरक्षा सतर्कता अपनाएर भौतिक दुरी कायम गर्दै खेतीपातीको काममा आफूहरु लागिपरेको बताएका छन् ।

यस वर्षको राष्ट्रिय नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । जिल्लामा खेतीपाती लगाउने परम्परागत साधन हलगोरुका साथै पछिल्लोपटक भित्रिएको आधुनिक प्रविधि मिनी टेलर हलोको समेत प्रयोग हुँदै आएको छ ।

जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । गत आर्थिक वर्षसम्म कुल खेतीयोग्य जमिनको करिब ११ प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बेनी नगरपालिकासहित सबै स्थानीय तहमा धान खेती हुन्छ ।

म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रहरु धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिन्छ ।