प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको प्रश्न ‘षडयन्त्र गर्ने राजदूतलाई किन स्पष्टिकरण नसोध्ने ’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टिकरण सोध्न नसकेको भन्दै प्रश्न गर्नुभएको छ ।

नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएका थियो ।मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले षड्यन्त्र गर्ने राजदूतसँग किन प्रधानमन्त्रीले स्पष्टिकरण नसोधेको भनेर प्रश्न गर्नुभयो ।

‘प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ । त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न?’कोरोना महामारीलाई प्रधानमन्त्रीले गम्भीर रूपमा नलिएको भट्टराईको आरोप छ । ‘प्रधानमन्त्रीजी कहिले कुनै पार्टी फुटाउने विधेयक ल्याउनुहुन्छ । कहिले बेसुरसँग प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भन्ने बेतुकका कुरा गरेर जग हसाउनुहुन्छ,’ उहाँले भन्नुभयो ।

भट्टराईले अंगीकृत नागरिकताको व्यवस्थामा महिला र पुरूषलाई समान अधिकार दिनुपर्ने बताउनुभयो । नागरिकताको एजेन्डा मधेशको मात्र नभएर सिंगो देशको भएको उहाँले बताउनुभयो । दोस्रो दर्जाका नागरिकका रूपमा कसैलाई पनि राख्न नहुने भट्टराईको भनाइ छ ।