कोरोनाले १ सय ५८ नेपालीको ज्यान लियो


काठमाडौं, (नेस)

कोरोना संक्रमणबाट हालसम्म विश्वभर १ सय ५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २ सय २७ जनामा संक्रमणको पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७ सय नेपाली संक्रमणमुक्त भएका छन् भने खाडी मुलुकमा रहेका ८ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ ।

एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ ।

हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाका कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अस्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली संक्रमणबाट मुक्त भएका छन् ।