त्रिवि आजबाट ६१औं वर्षमा, ५६ हजारको ग्रेस लिस्ट पारित हुने

कुलपति एवं प्रधानमन्त्री नआउने, प्रभावकारी भएन अनलाइन कक्षा


ईश्वरराज ढकाल, काठमाडौं

अनलाइन कक्षा सञ्चालन गर्न नसकेर आलोचना खेपिरहेको त्रिभुवन विश्वविद्यालयले आज सोमबार ६१औं स्थापना दिवस मनाउँदै छ । लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको विश्वविद्यालयले आउँदो दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थी संख्यासहितको ग्रेस लिस्ट पारित गर्ने भएको छ ।

त्रिविसभाको बैठकले ग्रेस लिस्ट पास गरेपछि ती विद्यार्थी सम्भवतः पुस १५ मा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने छन् । सभाले ५६ हजार ७ सय १३ जनाको ग्रेस लिस्ट पास गर्नेछ ।

विसं २०७६ असार १ गतेदेखि २०७७ जेठ मसान्तसम पीएचडीदेखि स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीको नाम ग्रेस लिस्टमा समावेश हुनेछ । प्रधानमन्त्री एवं त्रिविका उपकुलपति केपी शर्मा ओलीको उपस्थिति नहुने सभाको अध्यक्षता सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल गर्नुहुने भएको छ ।

’पछिल्लो तथ्याङ्कअनुसार त्रिविमा ४ लाख १५ हजार ४ सय ८४ विद्यार्थी अध्ययनरत छन् । त्रिविले स्नातकोत्तर, एमफिल र पीएचडीका विद्यार्थी मात्र अनलाइन पढाइ गर्ने गरेको छ । त्रिविले सञ्चालन गरेको अनलाइन कक्षामा ३० प्रतिशत विद्यार्थी पनि सहभागी छैनन् ।’ –त्रिवि सभा सदस्य एवं त्रिवि प्राध्यापक संघका सभापति डा. वसन्त ढकालले भन्नुभयो ।

उहाँका अनुसार नाम मात्रको अनलाइन कक्षाले विद्यार्थीको पढाइमा कुनै प्रगति हुन सकेको छैन । ‘त्रिविको तथ्याङ्कअनुसार व्यवस्थापन संकायका केही र विज्ञान र प्राविधिक विषयका केही विद्यार्थीले मात्र अनलाइनको कक्षा लिने गरेका छन् । मानविकी र शिक्षा संकायका विद्यार्थीको सहभागिता न्यून छ ।’ –त्रिविका एक अधिकारीले भने ।

त्रिविले अनलाइन कक्षा सञ्चालन गरेको दाबी गरे तापनि त्यसको प्रतिफल नगन्य रहेको डा. ढकालको भनाइ छ । ‘गाउँमा गएका विद्यार्थीसँग कहाँबाट इन्टरनेट हुन्छ र पढ्ने ?’, उहाँले भन्नुभयो–

त्रिविको सभामा लकडाउनको कारण बन्द विश्वविद्याललाई खुला गर्ने कि कक्षालाई कसरी व्यवस्थित गर्ने ? भन्ने विषयमा छलफल गर्नु आवश्यक रहेको छ ।’

त्रिविअन्तर्गत हाल ६२ आंगिक र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस छन् । तीमध्ये केही सम्बन्धनप्राप्त क्याम्पसलाई क्वारेन्टाइन बनाइएका छ । अधिकांश क्याम्पस बन्द रहेका छन् । केही निजी कलेजले मात्रै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

त्रिविले अनलाइन कक्षालाई कसरी व्यवस्थित गर्ने ? परीक्षा सञ्चालन र सेमेस्टर कसरी चलाउनेलगायतका विषयमा समेत सभाले बोल्नेछ । सभामा कानुन संकायका डीन प्राडा विजयसिंह सिजापति र शिक्षकको तर्फबाट प्राडा प्रेमसागर चापागाईंलाई त्रिवि कार्यकारी परिषद्को सदस्यमा नियुक्ति गरेको निर्णय गर्नेछ ।

बैठकमा मन्त्री पोखरेलले पछिल्लो समयमा नेपालको विश्वविद्यालय शिक्षाको विषयमा बोल्नुहुने भएको छ ।