कचनकवल गाउँपालिकालाई सङक्रमित मुक्त बनाउने अभियान


उत्तम नेपाल, भद्रपुर ।

कोभिड १९को इपिसेन्टर बनेको नेपाल कै होचो भू–भाग झापाको कचनकवल गाउँपालिकालाई सङक्रमितमुक्त बनाउने अभियानमा लागेका छन् ।
सङ्क्रमितहरु उपचारपछि धमाधम निको भएर घर फर्किन थालेपछि सो पालिकमा सवै क्षेत्रबाट एकजुट भइ अभियानमा लागेका हुन् । भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका कचनकवलबासी स्वदेश फर्किएपछि कोरोना भाइरसको सङ्मितको सङ्ख्या तिब्र बढेको थियो ।

महिना दिनमा सङ्क्रमितको सङ्ख्या १२९ पुगेको थियो । भारतको दिल्ली, मुम्बई, चेन्नई, गुजरात, तमिलनाडू लगायतका क्षेत्रबाट आएका गाउँबासीलाई गाउँपालिकाले सीमाबाटै उद्धार गरी सोझै क्वारेन्टाइनमा लगेर राखेका थिए । क्वारेन्टाइनमा बसेका उनीहरूको त्यहीँबाटै स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि विराटनगर र धरान पठाइएको थियो ।

सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि जनसमुदायमा सङ्क्रमण फैलिने त्रास स्थानीयमा देखियो । गाउँपालिकामा पुष्टि भएका १२९ जना कोरोना सङ्क्रमितमध्ये १२६ जना उपचारपछि निको भएर घर फर्किसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

बाँकी तीन जनाको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरू पनि चाँडै निको भएर फर्किन लागेको उहाँको भनाइ छ । यादवका अनुसार क्वारेन्टाइनमा बसेका ६१ महिला र ६४१ पुरुष गरी ७०२ जनाको स्वाब सङ्कलन गरिएको र त्यसमध्ये १२९ जनाको पोजेटिभ र बाँकी ५७३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । कर्मचारी, स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी आरडीटी र पिसिआर गरी जम्मा एक हजार ८२ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ ।

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका अधिकांश घर फर्किसकेको पालिकाले जनाएको छ । गाउँपालिकालाई कोरोनामुक्त बनाउने अभियानमा यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी लागि परेको पालिका अध्यक्ष अञ्जरा आलमले बताउँनुभयो । क्वारेन्टाइनमा बसेकाहरूलाई पनि रिपोर्टको आधारमा धमाधम घर पठाउने काम भइरहेको उहाँको भनाइ छ ।