पूर्वअध्यक्षकै धाराको पानी बन्द


भक्तपुर, (नेस)

सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत उपसमितिका पूर्वअध्यक्ष केदार त्वानावासुले उपसमितिको रकम संस्थालाई हस्तान्तरण नगरी अटेर गरेको भन्दै उनको धाराको पानी काटिएको छ ।

विगत ५ वर्षदेखि नयाँ कार्यसमिति आएदेखि नै उनीलगायत तत्कालीन सचिव र कोषाध्यक्षको नाममा राष्ट्रिय वाणिज्य बैंकमा संयुक्त खाता समितिको ५ लाखभन्दा बढी रकम राखेकोमा उनले उक्त रकम नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न अटेर गरेर संस्थालाई आर्थिक घाटा पारेको समितिले जनाएको छ ।

उपसमितिका अध्यक्ष तुलसीनारायण लाखेमरुका अनुसार पूर्वअध्यक्ष केदार त्वानावासुलाई रकम खाँचो प¥यो भनी समितिको पैसा हस्तान्तरण गर्न पटक–पटक मौखिकरूपमा आग्रह गर्दा र पत्रचारसमेत गर्दा उनले बेवास्ता गर्दै आएका छन् ।

उक्त रकम झिक्न असहयोग र बेवास्ता गर्दा संस्थालाई आउने ब्याजमा समेत थप घाटा पर्न गएकाले उनलाई पैसा हस्तान्तरणका लागि दबाब सिर्जना गर्न उपसमितिअन्तर्गत उनले जडान गरेको धारा काट्ने निर्णय समितिले बिहीबार गरेको अध्यक्ष लाखेमरुले बताउनुभयो ।

सोही निर्णयको आधारमा शुक्रबार समितिका पदाधिकारी र उपभोक्ता समितिका सदस्यसहितको उपस्थितिमा सूर्यविनायक नगरपालिका–८ अन्तर्गत महानगरी प्रहरी वृत्त जगाती छेउमा रहेको उनले घरमा प्रयोग गर्दै आएको धारा काटिएको समितिले जनाएको छ ।

उनले फोनमा कुरा गर्दा र भेटघाटका क्रममा पटक–पटक रकम हस्तान्तण गर्छु भन्दै आए पनि लामो समयदेखि अटेर गर्दै आएको समितको भनाइ छ ।

अझ अर्को खाता खोल्ने हो भने पनि आपm्नोसमेत नाममा बैंक खाता राख्नुपर्ने नियमविपरीतको कुरा गरेकाले सुनपा–८ का वडाध्यक्ष किरण थापाको समेत सहभागितामा बैठक बसी धारा काट्ने निर्णय गरिएको समितिका सहसचिव शिवनारायण ग्वाछाले बताउनुभयो ।

वडाध्यक्ष किरण थापाले उपसमितिलाई आर्थिक घाटा पार्ने र नयाँ समितिलाई स्वतः रकम हस्तान्तरण गर्नुपर्नेमा रकम हस्तान्तरणमा आलटाल गरेकाले पैसा हस्तान्तरण गर्न नैतिक र भौतिक दबाब पुगोस् भनी उनको धारा काट्ने निर्णय गरिएको बताउनुभयो ।

पहिला त्वानावासु अध्यक्ष हुँदा अध्यक्ष वा सचिवमध्ये एक जना र कोषाध्यक्षले हस्ताक्षर गरी रकम निकाल्न मिल्ने गरी खाता खोलिएको भए पनि उनले निवर्तमान अध्यक्ष भएपछि उनको हस्ताक्षरबिना पैसा निकाल्नसमेत नमिल्ने गरी संस्थालाई आवश्यक रकम चलाउन अवरोध खडा गरेको उपसमितिको आरोप छ ।

९/१० वर्षअघि ५०/६० जना ग्राहकबाट प्रति ग्राहक रु. २५ हजार संकलन गरी शुरू भएको उपसमितिमा हाल २ सय ४ जना ग्राहक छन् ।

एक व्यक्तिका कारण उपसमिति र यसअन्तर्गतका सम्पूर्ण ग्राहकलाई असर परेको भन्दै उपभोक्ता समितिका अधिकांश सदस्य आक्रोशित भएका छन् ।

यता पूर्वअध्यक्ष त्वानावासुले भने यति लामो समयसम्म किन नयाँ कार्यसमितिलाई बैंक खाता हस्तान्तरण नगरेको भनी सोध्दा अहिलेको नयाँ कार्यसमिति गठन हुँदा नै आर्थिक कारोबार यथावत राख्ने सल्लाहबमोजिक आफूले खाता परिवर्तन नगरेको बताउनुभयो ।