बागमतीमा २ हजार ४ सय ५० आइसोलेसन बेड थपिँदै


न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश कोभिड संकट व्यबस्थापन समितिले आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समिति अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आइसोलेसन बेड संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो ।

हाल प्रदेशले १ हजार २ सय ५८ वटा आइसोलेसन बेड तयारी अबस्थामा राखेको छ । समितिले दिएको जानकारीअनुसार १० प्रतिशत महिलाका लागि सुरक्षित गरी उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २/२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५०÷५० वटा आइसोलेसन बेड तयार गरिनेछ ।

वैदेशिक रोजगारमा गएर स्वदेश फर्कने नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलदेखि जिल्ला सदरमुकामसम्म पुग्ने यातायातको व्यबस्था खर्च वैदेशिक रोजगार बोर्डले ब्यहोर्न केन्द्रीय कोरोना संकट व्यबस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकामदेखि स्थानीय तहसम्मको यातायातको व्यबस्था खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ ।

सम्बन्धित मुलुकले नै हवाई यातायातको व्यबस्था गरी स्वदेश फर्कने नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थलदेखि सम्बन्धित जिल्ला सदरमुकामसम्मको यातायात खर्च प्रदेश सरकारले व्यहोर्ने गरी सम्बन्धित निर्देशिका परिमार्जन गर्न संघीय सरकारसँग अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।

विदेशबाट आउने बागमती प्रदेशका नागरिकलाई सुरक्षितरुपमा काठमाडौंमा रहेको होल्डिङ सेन्टरदेखि जिल्ला सदरमुकामसम्म ल्याउन उपत्यकाका ३ जिल्लाका कोभिड संकट व्यबस्थापन समितिले समन्वय गरी आबश्यक व्यबस्थापन गर्ने जनाइएको छ ।

कोभिड–१९ का संक्रमितको उपचार र संक्रमण रोकथामका लागि आबश्यक पर्ने स्वास्थ्य सामग्रीमध्ये केन्द्रबाट प्राप्त हुने औषधी तथा उल्लेख भएका सामग्रीबाहेक प्रदेशलाई आबश्यक पर्ने सामग्री व्यबस्थापन, प्रदेशस्तरमा पीसीआर टेष्ट र प्रयोगशालाको क्षमता बढाउन सामाजिक विकास मन्त्रालयले व्यबस्था मिलाउने पनि समितिको निर्णय छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भौतिक र जग्गा व्यबस्थापनको कार्य जिल्ला कोभिड संकट व्यबस्थापन समितिले स्थानीयतहसँग समन्वय गर्ने, नयाँ भवन निर्माण गर्नुपर्ने भए लागत अनुमानलगायत कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यबस्था मिलाउने, आइसोलेसन वार्ड सञ्चालन कार्य जिल्ला कोभिड संकट व्यबस्थापन समितिस“गको समन्वयमा सामाजिक विकास मन्त्रालयले व्यबस्था मिलाउने निर्णय गरिएको छ ।

कोभिड–१९ बाट बढी मानिसहरु संक्रमण भएका जिल्लाका कोभिड संकट व्यबस्थापन समितिले पूर्णबन्दाबन्दी गर्न सिफारिस गरे संघीय सरकारको कोभिड संकट व्यबस्थापन समितिको परामर्शमा प्रदेश सरकारले पूर्णबन्दाबन्दी घोषणा गर्नसक्ने व्यबस्था भएकोले यस्तो अबस्था आइपरे सम्बन्धित जिल्लाको कोभिड संकट व्यबस्थापन समितिलाई प्रदेशमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

बागमती प्रदेश कोरोना कोषमा ४३ करोड १९ लाख २९ हजार ९ सय २ संकलन भएको छ भने १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयमा ६० लाख निकासा गरिएको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि बागमती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत् विभिन्न स्वास्थ्य निकायहरुमा १६ करोड ३१ लाख ५१ हजार र संघीय सशर्त अनुदानबाट प्राप्त बजेट २ करोड ७० लाख गरी १९ करोड १ लाख ५१ हजार निकासा भएको छ ।