कोरोना कहर: स्वास्थ्यचौकी जान डराउँछन् गर्भवती


नेपाल समाचारपत्र, हेटौंडा

हेटौंडा—१४ की एक गर्भवतीले गर्भपरीक्षणका लागि स्वास्थ्यचौकी जान डर लागेको बताइन् । गर्भवती र सुत्केरीको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले कोरोना भाइरस मात्र होइन, जुनसकै रोग पनि चाँडै सर्ने गर्छ भन्ने उनलाई लागेको छ ।

हेटौंडा–१४ कै अर्की गर्भवतीलाई घाँटीको समस्या छ । उनी अस्पताल जान सकेकी छैनन् । अस्पतालमा कोरोना लाग्न सक्ने भएकाले जान डर लागेको उनले बताइन् । गर्भवती भएको बेलामा घरमै बसिरहनुपर्दा मानसिक चिन्ता पनि भएको उनले बताइन् ।

समयमा गर्भजाँच गर्न नपाउने र किनमेलमा कठिनाइ तथा आम्दानी नहुँदा पोषिलो खाना अभावलगायत समस्या झेल्न परेको उनीहरुको गुनासो छ ।

अस्पतालमा सामान्य अबस्थामा सुत्केरी गराएर घर पठाइएका महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । जेठ १६ गते हेटौंडा–१ की गर्भवतीमा कोरोना भाइरस देखिएपछि यहाँका गर्भवती त्रसित छन् । गर्भवतीहरु गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा कसरी जाने भनेर चिन्तित हुन थालेका छन् ।

सुत्केरी पनि अस्पताल जान डराएका छन् । घरबाहिर निस्कन डराउँदा महिलाहरु नियमित परीक्षण गराउनबाट वञ्चित हुँदै आएका छन् । अस्पताललगायत स्वास्थ्य संस्थाबाट कोरोना भाइरस सरेको चर्चा चलेकाले अधिकांश गर्भवती र सुत्केरी स्वास्थ्य सेवा लिन डराएका छन् ।

लकडाउनबाट उत्पन्न यी समस्या साझा हुन् । तर, गर्भवती अवस्था विशेष अवस्था भएकाले लकडाउनको बढी प्रभाव विपन्न परिवारका गर्भवती र बालबालिकालाई पर्न गएको छ ।

हेटौंडा–१४ स्थित मयूरधापमा रहेको मयूरधाप शहरी स्वास्थ्य केन्द्रमा पहिलाजस्तो गर्भवती गर्भपरीक्षण गर्न आउन छाडेका स्वास्थ्यकर्मी अंशु लामाले बताउनुभयो । ‘गर्भवतीहरु स्वास्थ्यचौकी आउन डराएका छन्,’ उहाँले भन्नुभयो– ‘कोरोना भाइरसका कारण सबभन्दा धेरै समस्यामा गर्भवती र सुत्केरी छन् ।’

यस्तो बेला गर्भवतीको स्वास्थ्य उपचारका लागि छुट्टै स्वास्थ्य संस्थाको व्यवस्था हुनुपर्ने उनीहरुको धारणा छ । हालको जस्तो विषम अवस्थामा महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्यकर्मीले टोलटोलमा गएर गर्भवतीलाई परामर्श दिन जरुरी रहेको गर्भवतीहरु बताउँछन् ।

गर्भवतीलाई कुनै समस्या देखिए पालिकाले तुरुन्त स्वास्थ्य संस्था पु¥याएर सेवा दिने व्यवस्था गर्नुपर्ने देखिएको उनीहरुको सुझाव छ । गर्भावस्था एक जटिल अबस्था भएकाले लकडाउन तथा महामारीको बेलामा उनीहरुले पाउनुपर्ने सेवासुविधा तथा स्याहारमा कमी आउन दिन नहुने स्वास्थ्यकर्मीको सुझाव छ ।

रोग होस् वा लडाइँ अथवा अभावको सबभन्दा नकारात्मक प्रभाव महिला र बालबालिकामा पर्ने गर्छ । कोरोना भाइरसबाट सबभन्दा प्रभावित महिला र बालबालिका भएका छन् । त्यसमा पनि गर्भवती र सुत्केरी बढी जोखिममा छन् ।

कोरोना भाइरसले एक सुत्केरीको ज्यान लिइसकेको छ भने गर्भवती कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण भएर २ वर्षे बालकले ज्यान गुमाइसकेका छन् । दर्जनौं महिला र बालबालिका कोरोना भाइरससँग जुधिरहेका छन् ।