काठमाडौँ महानगरले थाल्यो झिलिमिली कार्यक्रम, माइतीघर मण्डला बन्यो मनमोहक

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

दिनहुँ हुने फरक–फरक प्रकारका आन्दोलन, धर्ना, अनशन र खवरदारीसभाले माइतीघर मण्डलाको पहिचान नै फरक बनाएको छ । त्यति मात्र होइन विभिन्न महत्वपूर्ण घटनाको सम्झनामा होस् या केही शुभ सन्देश दिन युवा–युवती हुल बाँधेर त्यहाँ दिप प्रज्वलनका लागि पुग्ने गरेकाले पनि माइतीघर मण्डला थप चर्चित बनेको छ ।

पछिल्लो सयम कोरोनाको कहरसँगै सरकारले गरेको बन्दाबन्दीलाई समेत बेवास्था गर्दै त्यहाँ भएका आन्दोलनले माइतीघर मण्डला थप परिचित बनेको छ । हो, यस्ता फरक–फरक पहिचान र परिचय बनाएको माइतीघर मण्डलामा अब तपाईँ साँझको सयममा पुग्नुभयो भने मनमोहक दृष्य देख्न सक्नुहुनेछ ।

अनि त्यहाँका झिलिमिली प्रकाशले तपाईँ आनन्दित बनाउनेछ । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालिन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरेसँगै त्यहाँको सध्याकालिन दृष्य अहिले मनोमोहक देखिएको हो ।

काठमाडौँ महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली सहरको सौदर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने ‘एलइडी कलर पाइप लाइट’ जडानको कार्यक्रम अघि बढाएको बताउनुहुन्छ । ‘सबै भन्दा बढी चहल–पहल हुने र आवत–जावत पनि बढी हुने माइतीघर मण्डलामा हामीले नमूना परिक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौँ,’ ज्ञवाली भन्नुहुन्छ,’ ‘विश्वका विभिन्न सहरमा सहरको रात्रिकालिन जिवनलाई जिवन्तता दिन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइन्छ ।

काठमाडौँ महानगरपालिकाले पनि रात्रिकालिन सहरको सौदर्य बढाउन र साँझका बेला झिलिमिली हेरेर मनलाई आनन्दित बनाउने उदेश्यले यो कार्यक्रम अघि बढाएको हो ।’ उहाँले माइतीघर मण्डलालाई नमूना परिक्षणको रुपमा अघि बढाएको भन्दै काठमाडौंलाई बिश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने बताउनुभयो ।

‘महानगरका केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वका रुपमा बत्ती जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ,’ उहाँले भन्नुभयो, ‘यो कार्यक्रमले एकातिर रात्रिकालिन सहरको जिवन्ततालाई सहयोग पुग्छ भने अर्कोतिर रात्रिकालिन व्यवसायबाट अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन टेवा पुग्नेछ ।’ उहाँले यस्तो कार्यक्रमबाट कम खर्चमै रात्रिकालिन चहलपहल बढ्ने र फुटपाथ पसललाई न्युनिकरण केही हदसम्म सहयोग पुग्ने बताउनुभयो ।

उहाँले माइतीघर मण्डलाको झिलीमिलीबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिनुभयो । उहाँले विस्तारै नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि यस्ता बत्ती जडान गर्ने जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि रंगिचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

‘हामी विभिन्न संघ–संस्थासँग सहकार्य गरेर पनि अघि बढ्ने सोँच बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘सहरमा रात्रीकालीन सुरक्षाका लागि पनि यो जरुरी छ । सडकमा प्रशस्त प्रकाश भएपछि सिसिटिभि क्यामराको प्रभावकारिता समेत बढ्छ ।’

उहाँले असोज–कात्तिकसम्ममा सहरका पाँच–सात स्थानमा यस्तो बत्ती जडान गर्ने जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले यो वर्षको नीति तथा कार्यक्रममा समेत काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईटहरु जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्नेलगायतका लक्ष्य लिएको छ ।