मकवानपुरमा पनि थाल ठटाएर भगाइँदै सलह

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

प्रचलित एउटा सवाईमा यसको प्रकोपबारे वर्णन पाइएको पाइन्छ ।‘बानियाँ वंशको नालीबेली’ नामक पुस्तकमा यो उल्लेख छ । बानियाँ कान्छाले लेखेको पुस्तकमा जितबहादुर बानियाँले आफ्नो परिस्थितिअनुसार सवाई बनाउने गरेको उल्लेख छ । त्यसमा दिइएको एउटा सवाई यस्तो छ :

सुनसुन जन हो म केही भन्छु
२००८ सालको सवाई कहन्छु
२९ गते असारमा लाखौं सलह आयो
सारा अनाज उब्जिएको सबै थोक खायो ।

उता, राजेन्द्र थापाको शव्दमा अरुणा लामाको स्वर रहेको गीत छ–पोहोर साल खुशी फाट्दा, सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित तुलसी दिवसद्वारा संकलित र सम्पादित ‘नेपाली लोककथा’ मा पनि सलहको प्रसंग आएका दुई वटा कथा छन् ।

उक्त पुस्तकमा समावेश एउटा कथा ‘हौसिया गुन्द्र्या’ मा त्यसको पात्र गुन्द्र्याले १९८५ सालमा सलह आएपछि गीत नै बनाएको उल्लेख छ । कथामा उल्लेख भएअनुसार सलह धपाउँदा/धपाउँदा उनले दिक्क भएर यस्तो गीत भनेका थिए रे –

यी सल (सलह) रन्ना, यी सल खान्ना यी बाली तिरन्ना
पूर्व होई आएका सल पश्चिम छिरन्ना ..

सोही पुस्तकमा समाविष्ट ‘वीरबाहुका छोरा शुरबाहु’ कथामा पनि वीरबाहु राजाका मन्त्रीले ‘सलहझैं आक्रमण गर्न आउँछौं’ भन्ने सन्देश दिन पद्मसेन राजाकहाँ एउटा बाकसमा सलह भरेर पठाएको उल्लेख छ । त्यसको उत्तरमा पद्मसेनकी छोरीले सोही बाकसमा मुलाका चाना राखेर पठाइ ‘सलहझंै आएका सैनिकलाई मुला काटेझैं काट्छौं’ भन्ने सन्देश दिएको प्रसंग छ ।

हो, शनिबार विहानमात्र पूर्वी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको निकै पुरानो प्रवासी त्यही शत्रुजीव सलह कीरा मकवानपुरमा पनि देखापरेको छ । हेटौंडा उपमहानगर जोडिएको मकवानपुरगढी गाउँपालिका–२ र ३ मा सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सलह कीराको हुल मकवानपुरगढी–३ को धमिलेस्थित दोर्जे लामाको मकैबालीमा क्षति पु¥याएर वडा–२ तर्फ उडेको छ । सलह कीरा देखिएसँगै स्थानीय किसान आतंकित छन् भने केहीले घरको छानामाथि चढेर चिच्च्याएर कीरा भगाउने प्रयास गरेको त कतिपयले थाल ठटाएको उहाँले बताउनुभयो ।

केहीले भने पूर्वतयारी गरी घरमा राखेको विषादी छर्किने गरेर कीरा भगाउने प्रयास गरेका छन् ।टोली तत्काल परिचालन भएर कीरा अध्ययन गर्ने क्रममा बाली संरक्षण प्राविधिकले हेर्दा सलह भन्ने पुष्टि भएको थियो । उहाँका अनुसार पानी रोकिएपछि कीराले बाली खाएर नष्ट गर्न थालेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका तथा हेटौंडा–१८ का केही क्षेत्रमा समेत सलह देखिएको छ । बकैया गाउँपालिकाको बारासँग जोडिएका वडा–१, २, र ७ का विभिन्न क्षेत्रमा कीरा देखिएको जानकारीमा आएको छ । बारा र सर्लाहीमा देखिएको सलह कीरा मकवानपुरका गाउँपालिकामा पनि देखिएको हो ।

मकवानपुरको सिमानामा जोडिएको बारामा देखिएको सलह बकैया–१, २, ४ , ५ तथा ७ नम्बर वडाका विभिन्न क्षेत्रमा देखिएको बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताउनुभयो ।

बकैया–७, हात्तीखोलाका अनुराज फुँयालले हजारौंको संख्यामा सलह देखिएको बताउनुभयो भने बकैया–४ का विष्णु थापाले पनि शनिबार विहानबाट हजारौंको संख्यामा सलह देखापरेको जानकारी दिनुभयो ।

गढी गाउँपालिका–७ को सुकौरामा पनि सलह देखिएको गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । अध्यक्ष हुमागार्इंले सलहको थप जानकारीका लागि कृषिक्षेत्र एकाईं प्रमुखहरुलाई पठाइसकिएको बताउनुभयो ।

बाराको निजगढ र सिमरामा पनि शनिबार विहान सलह देखिएपछि नजिकको मकवानपुर पनि अछुतो रहन सकेन ।
अफ्रिकी मुलुकबाट सुरु भएको सलह जातको फट्यांग्रा अरेबियन देशहुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो ।

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने कीराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खानेगर्छ । सलह फट्यांग्राको एक प्रजाति हो । यो एक किसिमको फौजीकीरा हो । यस कीराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउँछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थिति सिर्जना गरेको छ ।

वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समूहले बसेको ठाउँमा भेटेजति सबै हरिया बोटबिरुवा सखाप बनाउँछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । कीरा समूहमा पर्ने यो जीवले कृषिबालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पु¥याउँछ ।

सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन सक्छ । सामान्यतया एउटा सलह कीराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खानसक्छ ।  एक वर्गकिलोमिटर क्षेत्रफलमा ८० लाखसम्म कीराहरु हुनसक्ने प्रमाण पुष्टि भएको छ भने यी कीराहरु दैनिक ९० माइल (१ सय ५० किमि) सम्म दुरी पार गर्न सक्दछन् । एक दिनमा यो कीराले करिब ३५ हजार मान्छेले खाने बराबर खाना खानसक्छ ।