खोप अनुगमनमा जाँदा मलाई नै सुनपानी छर्केर चोख्याइयो

182
Shares

रोहिणी घिमिरे। 

विश्व स्वास्थ्य संघले विश्वबाट विफर उन्मूलन गर्ने घोषणा गरेअनुसार नेपालमा वि.सं. २०१८ देखि विफर उन्मूलन आयोजना लागू भयो । विश्व स्वास्थ्य संघकै सहयोगमा विफरविरुद्धको खोप सञ्चालन गरियो । दोलखाका बालकृष्ण श्रेष्ठ ‘दोल्खे’ पनि यस कार्यको अनुगमन गर्ने अधिकारीका रुपमा नियुक्त भएका थिए । उनका अनुसार गाउँ–गाउँमा गएर खोप कार्यक्रमको अनुगमन गरी रिपोर्ट तयार गर्नुपथ्र्यो । सो रिपोर्ट विफर उन्मूलन आयोजनामार्फत विश्व स्वास्थ्य संघका प्रतिनिधिकहाँ पठाइन्थ्यो । सोही रिपोर्टका आधारमा खोपको नतिजा विश्लेषण गरी थप कायक्रम तय हुन्थ्यो । यो योजना शुरु भएको १६ वर्षपछि वि।सं। २०३४ वैशाख १ गतेदेखि नेपाल विफरमुक्त मुलुकका रुपमा घोषणा भएको बालकृष्ण दोल्खे बताउँछन् ।

विफर उन्मूलन आयोजनामा जागिरे हुँदा आफूलाई धेरै पटक सुनपानी छर्केर चोख्याएको अनौठो कहानी सुनाउँछन् दोल्खे । पहिलोपटक सुनपानी छर्कंदा त नराम्रोसँग झस्किएको उनी सुनाउँछन् । दोल्खे भन्छन्– ‘२०३२ सालको कुरा हो, मलाई विफर उन्मूलन कार्यक्रमको अनुगमन गर्न डडेलधुरामा सरुवा गरियो ।’

विफरको खोप लिएकाहरुको अनुगमन गर्ने क्रममा तत्कालीन चिपुर गाउँपञ्चायतका एक सदस्यको घरमा पुगें । ती सदस्य त मसँग बोल्दै बोलेनन् । उनले भित्रबाट पानी ल्याएर मलाई छर्किदिए । म झसङ्ग भएँ । यसरी मलाई किन पानी छर्किएको भन्दा बल्ल उनको बोली फुट्यो– तपाईंले भुल (सार्की)को बच्चा छोएकाले सुनपानी छर्किएर शुद्ध पारेको, नत्र तपाईंसँग बोल्नै मिलेन ।’ उनको कुरा सुनेर निकै अचम्म लागेको दोल्खे बताउँछन् ।

२०३२ सालको कुरा हो, मलाई विफर उन्मूलन कार्यक्रमको अनुगमन गर्न डडेलधुरामा सरुवा गरियो । विफरको खोप लिएकाहरुको अनुगमन गर्ने क्रममा तत्कालीन चिपुर गाउँपञ्चायतका एक सदस्यको घरमा पुगें । ती सदस्य त मसँग बोल्दै बोलेनन् । उनले भित्रबाट पानी ल्याएर मलाई छर्किदिए ।

यही क्रममा डडेलधुराकै तत्कालीन देगलपुर गाउँपञ्चायतमा पनि दोल्खेलाई यस्तै घटना भएछ । एक दिन एउटा कुवामा मुख धोएर माथितिर लाग्दा अर्को कुवामा केही युवतीहरु पानी थाप्ने, लुगा धुने गरिरहेका थिए अरे । ती युवतीसँग कुरा गर्न खोज्दा उनीहरु नबोलेको दोल्खे बताउँछन् ।

उनी भन्छन्– ‘तिनीहरुले मलाई पानी छर्किएपछि मात्र मसँग बोले ।’ मैले कसैलाई छोएकै छैन, किन पानी छर्किएको भनेर दोल्खेले सोधेछन् । ती युवतीले के उत्तर दिए त भन्ने प्रश्नमा दोल्खे भन्छन्– मैले नसोचेको उत्तर पाएँ ।’ युवतीले भने अरे– ‘तल्ली नाउला (तल्लो कुवा) मा मुख धुनुभयो, त्यो त तल्लो जातको नाउला हो, त्यसैले तपाईंलाई सुनपानीले चोख्याएको ।’

यो त उदाहरण मात्र हो । यसरी उनलाई कैयौं पटक सुनपानी छर्केर चोख्याइयो रे । ‘यसो गर्दा पनि सुनपानी, उसो गर्दा पनि सुनपानी, म त हैरान नै भएको थिएँ त्यो समयमा’, दोल्खे भन्छन्– ‘सुनपानी छर्किएर मान्छे शुद्ध पार्ने हाम्रो मुलुक धन्न विफरमुक्त भएछ ।’ जागिरबाट अवकाश भएको कैयौं वर्ष भइसक्दा पनि सुनपानीका कुराचाहिँ बिर्सनै नसकेको उनी बताउँछन् ।