भारतको दाबी गर्ने जमिनमा चीनले बनायो सैन्य क्याम्प

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतले आफ्नो भनेर दाबी गर्ने भूमिमा चीनले बंकर लगायत संरचना बनाएको स्याटलाइट तस्बिरमा देखिएको छ ।

केही दिनअघि सोही स्थानमा भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो। झडपपछि भएको वार्तामा दुवै पक्ष केही पछि हट्ने सहमति गरिएको बताइएको थियो। तर, अहिले सो स्थाना चीनले बंकर, टेन्ट र सैन्य सामग्री भण्डार गृह तयार गरेको बताइएको छ ।
दुवै पक्ष वार्तामै रहेका बेला २२ जुनको भनिएको ती तस्बिर सार्वजनिक भएका हुन् ।

अन्तरीक्ष प्रविधिसम्बन्धी कम्पनी म्याक्सारले खिचेको ती तस्बिरको विश्लेषण गर्दै रोयटर्सले अघिल्लो महिनासम्म ती संरचना त्यहाँ नभएको जनाएको छ । यसबारे भारत र चीन दुवैले कुनै टिप्पणी गरेका छैनन्। यद्यपि सीमा क्षेत्रमा चीनले सैन्य संख्या वृद्धि गरेको आरोप भारतले लगाएको छ ।

भारतीय रक्षा मामिला विश्लेषक अजय शुक्लाले वास्तविक नियन्त्रण रेखाभन्दा डेढ किलोमिटर भारततर्फ चीनले ठूलो सैन्य क्याम्प बनाएको बताएका छन्। पूर्व भारतीय कुटनीतिज्ञ पी स्तोब्दान भने भारतले कुनै वक्तव्य जारी नगरेकाले यसबारे यसै भन्न नसकिने बताउँछन्। तर, चीनले सो क्षेत्रमा सैन्य संरचना बनाएको देखिएकाले त्यो चिन्ताजनक भएको उनको भनाइ छ।

गत १५ जुनमा सो स्थानमा झडप भएको थियो । झडपपछि चीनले भारतका कारण झडप भएको दाबी गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत साता सर्वदलीय बैठकमा भारतको भूमिमा कोही पनि प्रवेश नगरेको बताएका थिए। तर, मोदीको भनाइसँग बाझिनेगरी भारतीय विदेश मन्त्रालयले आफ्नो भूमि चीनले अतिक्रमण गर्न खोजेको आरोप लगाएको छ।
एजेन्सी