आँधी तुफान बन्ने


कोरोना भाइरस संक्रमणबाट हुने कोभिड–१९ को जोखिमका कारण लगाइएको लकडाउनले गर्दा फिल्म निर्माणदेखि प्रदर्शनसम्मका सबै गतिविधि ठप्प छन्।

फिल्मकर्मीहरू फिल्म निर्माण र प्रदर्शनका लागि लकडाउन खुल्ने समयको प्रतीक्षा गरिरहेका छन्। फिल्म लेखक तथा निर्माता मौनता श्रेष्ठ पनि यस्तै पर्र्खाइमा छन्। उनी आँधी तुफान–२का नाममा फिल्म निर्माण गर्ने सुरसारमा छन्।

उनले आँधी तुफानपछि आँधी तुफान–२ निर्माण गर्न लागेका हुन्। मौनताले २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा आँधी तुफान निर्माण गरेका थिए। सो फिल्मले व्यावसायिक सफलता हासिल गरेको थियाे ।

मौनताले लकडाउन अवधिभर आँधी तुफान–२को स्क्रिप्ट तयार पारेको र आगामी भदौबाट सुटिङ शुरू गर्ने तयारी गरेको बताए। रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने फिल्मको निर्देशक तथा कलाकार छनोटकै क्रममा रहेको उनले बताए।

लेडी एक्सन फिल्म आँधी तुफानमा पँजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने मुख्य भँमिकामा थिए । आँधी तुफान–२ पनि नारी कथामा हुने मौनताको भनाइ छ।