कक्षा १० को परीक्षाफल: ५ हजार विद्यालयमा समस्या


ईश्वरराज ढकाल, काठमाडौं ।
देशका करिब ५ हजार विद्यालयमा क्वारेन्टाइन भएको अवस्थामा कक्षा १० को अन्तिम परीक्षा कसरी सम्पन्न गर्ने गम्भीर समस्या देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि सार्वजनिक गरेको भोलिपल्ट परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले हिजो बुधबार सबै विद्यालयलाई अबको ९ दिनभित्र शिक्षा विकास तथा समन्वय इकाइमा नम्बर पठाउन निर्देशन दिइसकेको छ ।

पनिकाले दिएको ६ बुदे निर्देशनमा क्वारेन्टाइन भएका विद्यालयमा कसरी प्रवेश गरी विद्यार्थीको त्रैमासिक परीक्षाको अभिलेख उतारेर नम्बर इन्ट्री गर्ने भन्ने विषयमा गम्भीर समस्या देखिएको छ । देशभरका मावि तहका विद्यालयमध्ये गएको शुक्रबारसम्म ४ हजार ५ सय विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो ।

एक हप्तापछि शुक्रबारसम्ममा सो संख्या नाघेर ५ हजार विद्यालयमा क्वारेन्टाइन रहने सरकारी आँकलन छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी एक हप्तामा करिब ५ हजार विद्यालयमा क्वारेन्टाइन हुने अपेक्षा गरेको छ ।

हाल कोरोना संक्रमणको रेड जोनमा परेको तराईका अधिकांश जिल्ला, सुदूरपश्चिमको डडेल्धुरा, मध्यपश्चिमको दैलेख, पश्चिमको कपिलवस्तु, अर्घाखाँची, गुल्मीलगायतका तीन दर्जन बढी जिल्लालाई सिल गरेको अवस्था छ ।

‘ती जिल्लामा विद्यालय खुल्नै सक्ने अवस्थामा छैन, कसरी विद्यालयमा प्रधानाध्यापक र शिक्षक पुग्न सक्छन् ? यस्तो गम्भीर समस्याको कारण परीक्षाफल प्रकाशित गर्न सक्ने अवस्था देखिएको छैन’ –केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले हाल यो विषय गम्भीर र जटिल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘क्वारेन्टाइन बनाइएका विद्यालयमा बाहिरबाट आएका व्यक्ति कोचाकोच भरिएका छन् । ती विद्यालयको कार्यालय कसरी खुला गरेर अभिलेख संकलन गर्ने भन्ने विषयमा समस्या देखिएको छ ।’

‘नम्बर इन्ट्री गर्ने काम त घरमै बसेर गर्लान्, विद्यार्थीको परीक्षाको मूल्याङ्कन गरिएका कागजात कसरी बाहिर निकाल्ने भन्ने विषय समस्या देखिएको छ’ –महानिर्देशक थपलियाले भन्नुभयो ।

पनिकाले जारी गरेको ६ बुँदे सूचनाको बँुदा नम्बर ६ मा क्वारेन्टाइनको रुपमा प्रयोग भएका विद्यालयहरुबाट विद्यार्थीको अभिलेख तयार गर्नका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरुले जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरी सहजीकरण गर्न आग्रह गरिएको छ ।

सो आग्रह कार्यान्वयन हुने हो कि नहुने हो भन्ने विषयमा अन्योलता देखिएको छ । क्वारेन्टाइन भएका विद्यालयको कार्यालयमा प्रवेश गर्नुअघि सो कार्यालय निर्मलीकरण गर्नुपर्ने विषयमा कसैले सोचेको छैनन् ।

एक जिल्लाबाट अर्को जिल्ला जान त नपाइएको अवस्थामा कसरी कर्मचारी र कक्षाशिक्षकलाई विद्यालयमा बोलाउने भन्ने विषय अर्को समस्या हो ।

स्थानीय व्यक्ति विद्यालयको प्रअ वा शिक्षक भएको विद्यालयमा कुनै समस्या नपरे पनि जिल्ला बाहिरको व्यक्ति भएको खण्डमा के गर्ने भन्ने विषय अर्को समस्या देखिएको छ । पनिका परीक्षा नियन्त्रक रामराज खकुरेलले समस्या भएको विद्यालयमा स्थानीय तहको सहयोगमा परीक्षाको काम गर्ने गरी तयारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले सार्वजनिक सूचना जारी गरी इकाइलाई अनुरोध गरिसकेका छांै, उहाँहरुले नै परीक्षा व्यवस्थापन गरी नम्बर पठाउनुहुनेछ ।’

पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउन आग्रह गरेको छ । क्वारेन्टाइन भएको विद्यालय, जिल्ला बाहिरको प्रअ र कक्षा शिक्षक भएको कारण परीक्षाफल प्रकाशित गर्न कठिनाइ हुन सक्ने आँकलन गर्न थालिएको छ । ‘पक्कै केही गम्भीर विषयमा समस्या परेका छन्, यसलाई समाधान गर्न स्थानीय निकायको मुख्य भूमिका रहन्छ’ –परीक्षा नियन्त्रक खकुरेलले भन्नुभयो ।

कोरोना संक्रमितको संख्या बढ्दै जाने र विद्यालयमा क्वारेन्टाइन थपिँदै जाने भएपछि कसरी परीक्षाफल प्रकाशित गर्ने ? भन्ने विषय मुख्य समस्या देखिएको छ । तर परीक्षा नियन्त्रक खकुरेलले इकाइ, स्थानीय तह, प्रअ, शिक्षक र विद्यालय व्यवस्थापन समितिले सहयोग गरे तोकिएकै समस्या परीक्षाफल प्रकाशित गर्न सकिने दाबी गर्नुभयो ।