बिनाझन्झट सवारी परमिट माग

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

यातायात व्यबसायीले सरकारले तत्काल ढुवानी सेवालाई भ्याट सीमाभित्र राख्न नहुने बताएका छन् । उनीहरुले बाटो इजाजतपत्र र बिनाझन्झट सवारी परमिट दिइनुपर्ने, मालबाहकको हकमा पञ्जीकरण गर्ने व्यबस्था खारेज गर्नुपर्ने, विद्यमान कानुनअनुसार अञ्चलीकरण भएर सञ्चालित सबै सवारीसाधनलाई प्रचलित कानुनअनुसार प्रादेशीकरण गर्न निःशुल्क र सरलीकरण गर्नुपर्ने माग पनि सरकारसमक्ष गरेका छन् ।

सडक दुर्घटनाका घाइतेको औषधी उपचार खर्च व्यबस्थापनको भयावहतालाई यथोचित सम्बोधन गर्नुपर्ने जस्ता नीतिगत् निर्णयहरु गर्नुपर्ने मागसहित उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । नारायणी यातायात कंप्रालि (नारायणी यातायात व्यबसायी संघ मुख्य कार्यालय हेटौंडाको रुपान्तरित संस्था) ले यातायात क्षेत्रका विषयमा सरकारले गर्नुपर्ने नीतिगत् निर्णय र हाल कोभिड–१९ द्वारा सिर्जित समस्या न्यूनीकरणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई, नेकपा जिल्ला अध्यक्षमार्फत् केन्द्रीय अध्यक्षलाई, नेपाली कांग्रेस जिल्ला सभापतिमार्फत् केन्द्रीय सभापतिलाई ज्ञापनपत्र बुझाइएको संघ महासचिव सरोज खनालले बताउनुभयो । ज्ञापनपत्र विभिन्न दलनिकट लोकतान्त्रिक, गणतान्त्रिक र प्रजातान्त्रिक यातायात व्यबसायी संघका अध्यक्षहरुलाई पनि पठाइएको महासचिव खनालले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा कोरोना भाइरस (कोभिड–१९) बाट यातायात व्यबसायीलाई परेका विभिन्न समस्या न्यूनीकरणका लागि ६ वटा बुँदागत माग गरिएको उहाँले बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन संघ अध्यक्ष हीरालाल श्रेष्ठ र निवर्तमान अध्यक्ष बद्री चौलागाईंसहित पदाधिकारी पुग्नुभएको थियो ।