पाल्पाको रामपुरमा गोरु काटेर खाए: ३ जना पक्राउ



न्युज अफ नेपाल,पाल्पा ।

पूर्वी पाल्पाको रामपुर नगरपालिकामा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । रामपुर नगरपालिकाको १० वरभञ्ज्याङ्गका वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत शुक्रबार राती साढे ११ बजे गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षीय प्रेम सुनार, १९ वर्षीय दामोदर सुनार र १९ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरिले बताउनु भयो ।

गोरु काटेको सुचना पछि इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घटनास्थल पुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

स्थानीयका अनुसार विर बहादुरले हुँगी बाट एक हल गोरु ल्याएका थिए । जस मध्ये एउटा बेचेको र अर्को गोरु गोठ मै राखेका थिए । घटना बारेमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्