खोटाङ कोरोना संक्रमण मुक्त



खोटाङ, (नेस)

चारै जना कोरोना संक्रमितहरु निको भएपछि खोटाङ हाल कोरोना संक्रमणमुक्त वनेको छ । कोरोना संक्रमणको पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिकाका चारै जना निको भएपछि जिल्ला कोरोना संक्रमणमुक्त बनेको हो ।

संक्रमण पुष्टि भएलगत्तै अस्पताल भर्ना गरिएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका हिमाल कार्की, भुवन कार्की र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खुम्बराज राईलाई शुक्रबार डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज भएका उनीहरुलाई घर फर्काउनका लागि व्यवस्थापनको काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

केही समयअघि मात्र भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएका उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि गत जेठ २३ गते कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । कामका सिलसिलामा भारतको कानपुर पुगेका कार्कीद्वय गत जेठ ११ गते गाउँ आइपुगेका हुन् ।

यस्तै, राई भारतबाटै जेठ १६ गते गाउँ आइपुगेको नगरपालिकाले जनाएको छ । भारतबाट आएपछि उनीहरु सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका युवा यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्