आइसोलेसनमा भर्ना भएकै दिन दुई डाक्टरको रिर्पोट नेगेटिभ



दुर्गाप्रसाद शर्मा,पर्वत ।

कोरोना संक्रमण भएको पुष्टि भएको तेस्रो दिनमा मात्रै पर्वतका संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा भर्ना गरिएको हो । शुक्रबार बिहान संक्रमण पुष्टि पछि पनि तीन दिन सम्म अस्पतालकै निवास र इन्डोरमा बस्दै आएका पर्वत अस्पतालका स्वास्थ्यकर्मीलाई आइतबार साँझ मात्रै आइसोलेसनमा भर्ना गरिएको हो ।

त्यसमध्ये दुई चिकित्सकको भने आइसोलेसनमा भर्ना भएकै समयमा नेगेटिभ रिर्पोट आएको छ । पर्वतको कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी सिसिएमसी को आइतबार मध्याह्न सम्पन्न बैठकबाट संक्रमितहरूलाई कुस्मा नगरपालिका ४ छमर्केमा रहेको ब्लु एन्जल रिसोर्टमा राख्ने निर्णय अनुसार साँझ ७ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका ५ जना र आइतबार बिहान संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी र उनीहरुका परिवारका सदस्य गरि ७ जनालाई आइसोलेसनमा भर्ना गरिएको सहायक प्रजिअ तथा सिएमसीका प्रबक्ता घनश्याम गौतमले जानकारी दिनुभयो ।

गत शुक्रवार पर्वत अस्पतालमा कार्यरत २ जना चिकित्सक, १ जना नर्स, १ जना ल्याब टेक्निसियन र १ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने आइतबार बिहान एक जना पर्वत अस्पतालमा कार्यरत नरहेका एक जना स्वास्थ्यकर्मी र अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई संक्रमण भएउको पुष्टि भएको थियो ।

तर आवश्यक पूर्वतयारी नगरिएका कारण आइसोलेसनमा सार्न समस्या भएको थियो। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाले स्वास्थ्यकर्मीलाई संक्रमण हुन सक्ने र भएमा के गर्ने भन्ने विषयमा पूर्व तयारी नगरिएका कारण आइसोलेसनमा लैजान समस्या रहेको र अब भने समस्या समाधान भएको बताउनुभयो ।

संक्रमण पुष्टि भएको शुक्रबार साँझ नै संक्रमितहरूलाई ब्लु एन्जल रिसोर्टकै आइसोलेसनमा लगिएको भए पनि उनीहरू बस्ने कोठामा सरसफाइ र सुविधा नभएको भन्दै राति नै आइसोलेसनबाट फर्केर अस्पतालकै निवास ल्याइएको थियो।
सिसिएमसीले त स्वास्थ्यकर्मीलाई ब्लु एन्जलमा नै राख्ने व्यवस्थापन गरिएको बताउँदै आएको भए पनि संक्रमितहरू जान मानेका थिएनन्।

शनिबार साँझ त स्वास्थ्यकर्मीहरूको टोलीले आन्दोलनस्वरूप जिल्ला प्रशासन कार्यालयमा पुगेर आफूहरूका माग पूरा गर्न दबाब समेत दिएका थिए। जिल्लामा फेला परेका अन्य संक्रमितलाई राख्दै आएको जिल्लाकै एक मात्र आइसोलेसन पर्वत कोरोना अस्पताल ९अस्थायी० ९गुप्तेश्वर बहुमुखी क्याम्पस० मा बस्न स्वास्थ्यकर्मीले अस्वीकार गरेका थिए।

यता शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएका पर्वत अस्पतालमा कार्यरत दुई जना चिकित्सको आइतबार साँझ कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ। प्रयोगशालामा पटक पटक गरिएको परिक्षणमा पनि उनीहरुको रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देबकोटाले जानकारी दिनुभयो ।

अहिले उहाँहरुको रिर्पोट नेगेटिभ आएको छ , मेसु डा देबकोटाले भन्नुभयो भोली नै होम आइसोलेसनमा पठाउने योजनामा छौ । संक्रमण पुष्टि भएका अन्य स्वास्थ्यकर्मीको सोमबार श्वाब लिएर परिक्षणका लागि पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्