ब्यवसायी गौतम एक्लैले गरिदिए ७ सय ४९ स्वास्थ्यकर्मीको कोरोना विमा



मोतीराम तिमल्सिना,काभ्रे ।

निर्माण ब्यवसायी रामबहादुर गौतमले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना विमाका लागि रकम उपलब्ध गराउनु भएको छ । जिल्लामा ७ सय ५५ जना स्वास्थ्यकर्मीहरु कार्यरत हुनुुहुन्छ । ६ जनाको मण्डनदेउपुर नगरपालिकाले यस अघि नै विमा गरिदिई सकेको थियो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक श्रवणकुमार तिमल्सिना मार्फत जिल्लाक सबै स्वास्थ्यकर्मीहरु स्वास्थ्य कार्यालय मार्फत विमा गराउने गरी ब्यवसायी रामबहादुर गौतमले विमा बापतको रकम हस्तान्तरण गर्नु भएको हो ।

‘धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक जिल्लाबाट आएकी महिलाको कोरोना भाईरसका कारण निधन भएको खवरले स्तब्ध भएँ’– ब्यवसायी रामबहादुर गौतमले भन्नुभयो–‘गाउँगाउँका स्वास्थ्य चौकीहरुमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनका लागि एक लाख रुपैयाको कोरोना विमा गर्न सहयोग गरेको हुँ ।’

प्रति ब्यक्ति ६ सयका दरले गौतमले ४ लाख ४९ हजार ४ सय रुपैया उपलब्ध गराउनु भएको छ । एक वर्ष मान्यता रहने गरी पिसिआर परिक्षणमा कोरोना देखिएको अवस्थामा विरामीका आफन्तले एक लाख रुपैया प्राप्त गर्नेछन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सहयोग गरि स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्य गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

विमा रकम हस्तान्तरण कार्यक्रममा नेकपा नेता कुमार थापा, पत्रकार महासंघ बागमती प्रदेशका सचिव सुरेश हुमागाई, जिल्ला स्थित कमाण्ड पोष्टका सदस्यहरु, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा लगायतको उपस्थिती रहेको थियो । गौतमले फ्रन्टलाईनमा रहेका अन्य ब्यक्तिहरुको विमाका लागि पनि सहयोग गर्ने बताउनु भएको छ ।

पत्रकार महासंघलाई सहयोग

ब्यवसायी रामबहादुर गौतमले विपदको अवस्थामा अग्रभागमा रहेर निरन्तर नागरिकहरुका लागि सेवा प्रदान गरेकोमा जिल्लाका संचारकर्मीहरुलाई धन्यवाद दिदै ५० हजार नगद सहयोग गरेका छन् । अध्यक्ष मोतीराम तिमल्सिनालाई महासंघले आवश्यक कार्यमा खर्च गर्न सकिने गरी उक्त रकम हस्तान्तरण गरेको ब्यवसायी गौतमले बताउनु भयो ।

पत्रकार महासंघका अध्यक्ष तिमल्सिनाले उक्त रकम पत्रकार कल्याण कोषमा जम्मा गरी पत्रकारहरुकै हितमा खर्च गर्ने बताउँदै सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्