संक्रमण रोक्न ‘ह्याण्ड वासिङ स्टेशन’



मोतीराम तिमल्सिना,काभ्रे ।

रोशी गाउँपालिकामा सेवा लिन आउने सेवाग्रहीहरुका लागि कोरोना भाईरसको संक्रमण रोक्न ह्याण्ड वासिङ्ग स्टेशन शुरु गरिएको छ । गाउँपालिका प्राङ्गणमा हातले नछोई खुट्टाले हात धुन सकिने मेशिन सहितको खानेपानी ट्याङ्की राखिएको छ ।

‘गाउँपालिकामा आउने सेवाग्रहिहरुका लागि हात धुने, ज्वरो नाप्ने, रेकर्ड राख्ने, माक्स र स्यानिटाईजरको अनिवार्य प्रयोग गरिएको थियो’–रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले भन्नुभयो–‘खुट्टाले चलाउने पानी ट्याङ्की सहितको मेशिन मार्फत संक्रमण फैलन नदिने सचेतना अपनाईएको छ ।’ सिआरएस नेपालको आर्थिक सहयोगमा शान्ति जनआर्दश सेवा केन्द्र मार्फत ५ सय लिटर क्षमताको पानी ट्याङ्की सहितको मेशिन उपलब्ध गराएको हो ।

उक्त सेटलाई २५ हजार खर्च हुन्छ । नगरपालिका, गाउँपालिका केन्द्रहरुमा ५ सय लिटरको र वडा कार्यालयमा रहेको स्वास्थ्य केन्द्रहरुमा २ सय लिटरको पानी ट्याङ्कीको ब्यवस्थापन गरिएको छ । गाउँपालिका अध्यक्ष डिबी लामा, प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहाललाई शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले हात धुने स्थानमा प्रयोग हुने सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

शान्ति जनआर्दश सेवा केन्द्रले मण्डनदेउपुर नगरपालिका, तेमाल गाउँपालिका र रोशी गाउँपालिकालाई उक्त सामाग्री हस्तान्तरण गरेको अध्यक्ष शंखबुद्ध लामाले जानकारी दिनु भयो । पनौती नगरपालिकाका १२ वटा स्वास्थ्य चौकीहरु, वडा नम्वर २ को कार्यालयमा हस्तान्तरण गरिएको छ भने वडा नम्वर ८, ९ र १ नम्वरमा हस्तान्तरणको तयारी गरिएको छ ।

त्यस्तै नगरपालिका कार्यालय र इन्द्रेश्वर नगरपालिकामा रहेको क्वारेन्टाईनमा पनि उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै सिआरएसको सहयोगमा शान्ति जनआर्दश सेवा केन्द्रले पहिलो चरणमा २० लाख बराबरको खाद्यान्न सहितको सामाग्री नगरपालिका मार्फत विपन्न परिवारलाई उपलब्ध गराउने भएको छ । नगरपालिकामा ३० लाख बराबरको राहत सामाग्री उपलब्ध गराउने गरी तयारी गरिएको कर्मचारी राजुकमार दुलालले बताउनु भयो ।

पनौती नगरपालिकाका वडामा रहेका विपन्न परिवारहरुको सूची वडा कार्यालय मार्फत नगरपालिकामा प्राप्त भए पछि नगरपालिकाले उक्त राहत उपलब्ध गराउने छ । चामल, दाल, गेडागुडी लगायतका सामाग्रीहरु राहत सामाग्रीमा उपलब्ध हुने कर्मचारी दुलालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्