तोकिएकै समयमा आयोजना सम्पन्न गर्न मन्त्री नेम्वाङको निर्देशन


न्युज अफ नेपाल, काठमाडौं ।
लकडाउनको कारण रोकिएको आयोजनाहरु पुनः अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागद्धारा भैसेपाटीमा निर्माण भइरहेको मन्त्री निवास र गोदावरीमा निर्माण भइरहेको सभा हलको स्थलगत निरीक्षण गर्ने सो निर्देशन दिनुभएको हो ।

मन्त्री नेम्वाङले लकडाउनका कारण तीन महिना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रुपमै अघि बढाउन विभागलाई आग्रह गर्नुभयो । भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताउदै समस्या आएको अवस्थामा राख्न पनि आग्रह गर्नुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालल निर्माण व्यवसायीको आग्रहमा काठमाडौ बाहिर रहेका कामदार ल्याउनको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जानकारी गराउनुभएको थियो ।
‘अधिकाशं कामदार तपाई क्षेत्रबाट काठमाडौं ल्याउनु पर्ने अवस्था रहेको छ, संघीय संसद भवन, प्रधानमन्त्री निवास, मन्त्री निवास प्रदेश प्रमुख निवास र गोदावरी सभा हल निर्माण गर्न झण्डै ८ सय कामदार काठमाडौं ल्याउनु पर्ने अवस्था छ ।’ विभागले उपत्यका बाहिरबाट ल्याउने कामदारको अनिवार्य रुपमा पिसिआर परीक्षण गरेर मात्र काममा लगाउन सकिने बताएको छ ।
विशेष भवन आयोजनाले संघीय संसद भवन, प्रधानमन्त्री निवास, मन्त्री निवास, प्रदेश प्रमुखको निवास र गोदावरीको सभा हल निर्माणको काम अगाडि बढाएको हो । विभागका अनुसार काठमाडौं बाहिरबाट चार वटा पाँच वटा आयोजनामा काम गर्ने झण्डै आठ सय कामदार ल्याउनुपर्नेछ ।
मन्त्री निवासको गत बर्ष असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको थियो । पुलचोकमा रहेको मन्त्री निवास साँघुरो भएकाले भैसैंपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरु समेत रहनेछन् ।
दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।
दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरु साडे दुई तलाको बन्नेछन् ।

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ (भ्याटसहित) रहेको छ । यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ ।
गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सभा हलको काम पनि कामदार अभाव भएको कारण रोकिएको छ । अनुगमनमा सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया र सहरी विकास सचिव मधुसुदन अधिकारी र शहरी विकास तथा भवन निर्माण विभागका उपहानिर्देशक, विशेष भवन आयोजनका प्रमुख सहितको सभागीता रहेको थियो ।