कोरोनासँगै पहिरो र डुबानबाट समुदायलाई जोगाउन बिपद् एकीकृत ब्यवस्थापन योजना

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

जिल्ला बिपद् ब्यबस्थापन समिति भक्तपुरले कोरोना भाईरस(कोभिड १९) नियन्त्रणका बीच बर्षाको समयमा हुन सक्ने बाढी ,पहिरो र डुबानबाट जिल्लाबासीलाई जोगाउन बिपद् ब्यबस्थापन योजना अघि सारेको छ । समितिको बैठकमा बिपद् ब्यबस्थापन योजना प्रस्तुत गर्दै बीर दल गण सुर्यबिनायकका गणपति प्रमुख कर्नेल शिबप्रसाद पौडेलले कोभिड नियन्त्रणमा भक्तपुरले खरीपाटी क्वारेण्टाईनको सुरुवातसँगै हालसम्म देशमै उदाहरणीय काम गरिरहेको बताउनुभयो ।

भक्तपुरको टोलीले लकडाउनका बेला कोरोना संक्रमण देखिएका धुलिखेल र ललिपुरमा समेत गएर मृतकको शब ब्यबस्थापन गरेको बताउँदै उहाँले कोरोना संक्रमणलाई मध्य नजर गर्दै ४ वटा एम्बुलेन्स मोडिफाई गरि संचालनमा रहेको र भक्तपुर क्यान्सर अस्पतालको एम्बुलेन्सलाई मोडिफाई गर्ने कार्य भैरहेको बताउनुभयो ।

दुवाकोटमा रहेको के एम सी अस्पताललाई कोरोना बिषेश अस्पतालको रुपमा बिकास गर्दै जानुका साथै नेपाल कोरिया अस्पतालमा समेत पीसीआर परीक्षणका लागि सरकारी स्वीकृतिका लागि पहल भैरहेको उहाँले बताउनुभयो ।
भक्तपुर अस्पतालमै पीसीआर सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिदै उहाँले भक्तपुर अस्पतालमा कोभिड उपचारका लागि भवन तैयार भई सकेकोले उपचारको लागि तीब्र तयारी गर्नुपर्ने बताउनुभयो ।

संक्रमणको जोखिम न्युनिकरण गर्दै सेवाग्राही र कर्मचारीलाई जोगाएर सेवा दिन समिति चनाखो रहेको बताउनुभयो । सुचना सम्प्रेषण र समन्वयमा स्थानीय तहसँग अझै जोड दिनुपर्ने बताउँदै उहाँले बिकास निर्माणमा सरोकारवाला सरकारी कार्यालयबीच समन्वयको अभाव रहेको उल्लेख गर्नुभयो ।

कर्नेल पौडेलले कोरोन भाईरस र बर्षा याममा हुन सक्ने संभावित बिपदको पुर्व तयारीका लागि तालिम प्राप्त जनशक्ति र स्रोत साधनको भण्डारण तयारी अबस्थामा रहेको बताउनुभयो । बिगतका बर्षामा हनुमन्ते नदी आसपास हुने डुबानले समस्या निम्त्याउने गरेको बताउँदै यस बर्ष क्षति हुन सक्ने संभाबित स्थानको पहिचान गरी अत्यावश्यक बस्तुको तैयारीलाई उच्च प्राथमिकता दिएको बताउनुभयो।

बिपदमा आवश्यक जनशक्तिलाई तालिम र पुर्व अभ्यास समेत गराएर तयारी अबस्थामा राखिएको बताउँदै उहाँले भक्तपुर बिपद् सामग्री भण्डारणमा धनी रहेको उल्लेख गर्नुभयो ।खोजतलास र उद्धारका लागि समेत गतिशिल र संगठित जनशक्ति तयार रहेको उहाँको भनाई छ ।

कार्यक्रममा सांसद महेश बस्नेतले कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्दै बर्षायाममा बाढी पहिलोले हुन सक्ने क्षति रोक्न ल्याईएको प्रति कार्य योजना प्रभावकारी हुने बताउँदै बिपद् जोखिम न्युनिकरणमा सरोकावाला सरकारी कार्यालयबीच समन्वय जरुरी रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा बिकास बिरोधी मोर्चा खडा हुने गरेको बताउँदै प्रकोपमा क्विक रेस्पोन्सका लागि अभाबका बीच पनि भक्तपुर तयार रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा बिपद् ब्यबस्थापनका लागि स्थानीय तह लगायत सरोकारवाला सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका अध्यक्ष बचन देउजा,मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ,चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र,डिभिजन बन अधिकृत प्रेम खनाल,रेडक्रस भक्तपुरका मन्त्री परशुराम पाण्डे,गैसस महासंघका अध्यक्ष सोम शर्मा बजगाईं,पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले कोरोना भाईरस नियन्त्रण र संभाबित बाढी पहिरो र डुबानको नियन्त्रणका लागि गर्नुपर्ने तैयारी बारे राय प्रदान गर्नुभएको थियो ।

बैठकले राय सहित मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना पारित गरेको छ ।मनसुनको समयमा बिपद्का घटना हुन सक्ने स्थानमा जोखिम न्युनिकरणका उपाय अबलम्बन गर्ने तथा कोभिड १९ को संक्रमणको रोकथाम ,नियन्त्रण,उपचार,प्रतिकार्य सँगै खोज उद्दार तथा राहतको कार्य गर्दा कारोना फैलन नदिन पुर्व तैयारी गर्ने निर्णय गरेको छ ।